राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड विनियोजन


दाङ । लुम्बिनी प्रदेश सरकारले यहाँस्थित राप्ती प्रादेशिक अस्पताललाई रु चार करोड बजेट विनियोजन गरेको छ । सोमबार प्रदेशसभामा पेस गरिएको बजेट भाषणमार्फत आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सो कुरा बताएका हुन् ।
“अस्पतालको स्तरोन्नतिका लागि उक्त बजेट विनियोजन गरिएको हो । अब, अस्पताल २०० शैयामा विस्तार हुने भएको छ”, उनले भने । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई सरकारले बजेट विनियोजन गर्दा प्राथमिकतामा नपारेको भन्दै यसअघि यहाँका नागरिकले विरोध गर्दै आएका थिए। यसपटकको बजेटले भने धेरै आशा पलाएको छ, स्थानीय खुमानन्द अधिकारीले बताए ।
त्यसैगरी, प्रदेश सरकारले थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्नका लागि यसपटक बजेट विनियोजन गरेको छ। सुकौराकोट पर्यटकीयस्थलको पूर्वाधार निर्माण र थारू सङ्ग्रहालय निर्माणका लागि रु चार करोड बजेट विनियोजन गरेको छ । बजेट विनियोजन भएपछि यहाँका थारू अगुवा तथा सर्वसाधारण खुसी भएका छन्।
उनीहरूले थारू राजा दङ्गीशरणको इतिहास संरक्षण र सुकौराकोटलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न उक्त बजेटले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।
























