प्रबास

बेलायती प्रधानमन्त्री स्टार्मरलक्षित आगजनीमा रुसको हात

एजेन्सी
२०८३ असार २ | मध्यान्ह ०१:०३ बजे

लन्डन । बेलायतका प्रधानमन्त्री किर स्टार्मरसँग सम्बन्धित सम्पत्तिहरूमा गत वर्ष भएका आगजनी आक्रमणहरू रुसद्वारा सञ्चालित व्यापक तोडफोड तथा अस्थिरता फैलाउने अभियानको हिस्सा रहेको ब्रिटिस ब्रोडकास्टिङ कर्पाेरेसन (बीबीसी)ले आफ्नो अनुसन्धानमा दाबी गरेको छ ।

सोमबार आगजनी षड्यन्त्रमा दोषी ठहरिएका २२ वर्षीय युक्रेनी नागरिक रोमन लाव्रिनोभिचले प्रधानमन्त्री स्टार्मरसँग सम्बन्धित घरमा आगो लगाएका थिए । अनुसन्धानअनुसार उनलाई ‘ईएल’ नामले चिनिने एक अज्ञात सञ्चालकले निर्देशन दिएको थियो ।

बीबीसीले प्राप्त गरेका सन्देशहरूका अनुसार उक्त सञ्चालकले आक्रमणपछि लाव्रिनोभिचलाई ‘तिमीले बेलायतको अत्यन्त उच्च पदस्थ व्यक्तिको घरमा आक्रमण गर्यौ’ भन्दै शहर छोड्न पैसा दिने प्रस्ताव गरेका थिए । तर केही घण्टामै लाव्रिनोभिच पक्राउ परे । अनुसन्धानले ‘ईएल’को पहिचान २३ वर्षीय रुसी कूटनीतिज्ञ येभगेनी ल्युक्सिन हुन सक्ने संकेत दिएको छ । उनी रुसका एक वरिष्ठ सरकारी अधिकारीका छोरा रहेको तथा सूचना युद्धसम्बन्धी गतिविधिमा संलग्न व्यक्तिहरूसँग निकट सम्बन्ध रहेको दाबी गरिएको छ ।

बीबीसीका अनुसार रुसी सञ्चालकहरूले सामाजिक सञ्जाल र टेलिग्राममार्फत बेलायतमा नक्कली अतिदक्षिणपन्थी तथा मुस्लिम समूहहरू सिर्जना गरी तोडफोड, उक्साहट र सामाजिक विभाजन फैलाउने प्रयास गरेका थिए। साथै स्टार्मरमाथि भएका आगजनी आक्रमणहरूको उद्देश्यबारे झूटा सूचना पनि फैलाइएको थियो । रुसी दूतावासले भने यी आरोपहरू अस्वीकार गर्दै रुसलाई कुनै गैरकानुनी गतिविधिसँग जोड्ने प्रयास अस्वीकार्य रहेको जनाएको छ ।

दूतावासले रुसले बेलायत वा त्यहाँका नागरिकप्रति कुनै आक्रामक उद्देश्य नराखेको दाबी गरेको छ । यस घटनामा युक्रेनी मूलका रोमानियाली नागरिक स्तानिस्लाभ कार्पियुक पनि दोषी ठहरिएका छन भने पेत्रो पोचिनोक लाई अदालतले निर्दोष ठहर गरेको छ । आक्रमणहरूमा पहिले स्टार्मरको स्वामित्वमा रहेको टोयोटा गाडीमा आगजनी गरिएको थियो । त्यसपछि उनी पहिले बस्ने फ्ल्याटको प्रवेशद्वार र पछि भाडामा दिइएको उनको घरको प्रवेशद्वारमा पनि आगो लगाइएको थियो ।

मुद्दाको सुनुवाइमा प्रत्यक्ष आक्रमणकारीहरू दोषी ठहरिए पनि योजना बनाउने र निर्देशन दिने वास्तविक व्यक्तिको पहिचान तथा उद्देश्यबारे विस्तृत बहस अदालतमा गरिएको थिएन । बीबीसीको अनुसन्धानले भने घटनाको पृष्ठभूमिमा रुसी प्रभाव रहेको दाबी गरेको छ ।

कमेन्टहरु