जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र

रासस


खोटाङ । जिल्लाको जन्तेढुङ्गा गाउँपालिका(३ काहुलेमा सञ्चालित लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा चालु शैक्षिक सत्रमा १३६ जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएकामध्ये बेसहारा १३, विपन्न ११ र टाढाका तीन जना छन् ।
उक्त विद्यालयमा गरिब, दलित र असहाय बालबालिकालाई निःशुल्क आवासीय शिक्षा उपलब्ध गराउन गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ । गाउँपालिकाले तीन वर्षदेखि निरन्तर आर्थिक सहयोग गर्दै आएको यस विद्यालयमा अहिले २९ जना विद्यार्थी आवासीय रूपमा अध्ययनरत रहेकामा दुई जनाले शुल्क तिरेर अध्ययन गरिरहेका विद्यालय प्रशासनले जनाएको छ ।
विसं २०१४ मा स्थापना भएको यो विद्यालयमा सञ्चालित निःशुल्क आवासीय शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको विद्यालयका शिक्षक जीवन राईले बताए । उक्त कार्यक्रमअन्तर्गत कक्षा २ मा दुई, कक्षा ३ मा एक, कक्षा ४ मा सात, कक्षा ५ मा पाँच, कक्षा ६ मा चार, कक्षा ७ मा आठ जना र बाँकी कक्षा १० मा रहेका उनले जानकारी दिए ।
“विद्यालयमा सञ्चालित यस कार्यक्रममा अधिकांश बुबाआमा नभएका विद्यार्थी अध्ययनरत छन्”, उनले भने, “चाडपर्व तथा विशेष अवसरमा उनीहरूसँगै बसेर मनोरञ्जन गर्छौँ । आवासी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएपछि दुई जना विद्यार्थीका अभिभावकले शुल्क तिरेर राख्नुभएको छ ।”
विद्यालयमा सञ्चालित आवासीय शिक्षा कार्यक्रममा उदयपुरका एक जना बेसहारा विद्यार्थीसमेत अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर राईले जानकारी दिए । “आवासमा बस्ने विद्यार्थीका लागि तीन वटा कक्षाकोठालाई आवासका रूपमा प्रयोग गरिएको छ । यो कार्यक्रममा १० जना छात्रा छन्”, उनले भने, “आवासमा बस्ने विद्यार्थीलाई आवश्यकताअनुसार समूहमा विभाजन गरेर छुट्टाछुट्टै राखिएको छ । रेखदेख, पठनपाठन तथा खेलकुदका लागि २४सै घण्टा समय दिने गरेका छौँ ।”
कक्षा १० सम्म पठनपाठन हुने यो विद्यालयमा सञ्चालित आवास शिक्षा कार्यक्रमका लागि प्रधानाध्यापकसहित दुई जना शिक्षक र एक जना कर्मचारीको व्यवस्थापन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमिला राईले जानकारी दिइन् । “विद्यालय सञ्चालनमा सुरुका दिनमा चुनौतीपूर्ण थियो । गाउँपालिकाले उपलब्ध गराउने बजेट समयमा निकासा नहुँदा व्यवस्थापनमा चुनौती थियो”, उनले भनिन्, “आवासीय विद्यालयमा खटिएका शिक्षक तथा कर्मचारीले २४सै घण्टा बालबालिकाको रेखदेख तथा अध्यापनको काम गर्दै आउनुभएको छ ।”
यहाँका गरिब, दलित र असहाय बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन गाउँपालिकाको लगानीमा निःशुल्क आवासीय विद्यालय सञ्चालन गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राईले बताइन्। “गरिब, दलित र असहाय बालबालिकाका लागि गाउँपालिकाको तर्फबाट खाना, खाजा, लत्ताकपडा र शैक्षिक सामग्रीसहित आवासको व्यवस्था मिलाएका छौँ”, उनले भनिन्, “यसका लागि गाउँपालिकाबाट हरेक वर्ष रु १८ लाख बजेट उपलब्ध हुन्छ । गाउँपालिकाले सुरु गरेको यो कार्यक्रम छोटो समयमा प्रभावकारी बन्दै गएको छ ।”
गाउँपालिकाको लगानीमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर सञ्चालित निःशुल्क आवासीय शिक्षा कार्यक्रमबाट लक्षित वर्गका बालबालिका प्रत्यक्ष लाभान्वित भएका स्थानीयले बताएका छन् । आवासीय विद्यालयमा अध्ययन गर्न चाहने अन्य विद्यार्थीले वार्षिक रूपमा रु ४० हजार उपलब्ध गराएर यस कार्यक्रममा सहभागी हुनसक्ने विद्यालय प्रशासनले जनाएको छ ।
शिक्षा क्षेत्रको सुधारमा क्रियाशील उक्त गाउँपालिकाले चार वर्षदेखि छ जना छात्रछात्रालाई बाली विज्ञान विषयमा निःशुल्क अध्ययन गराइरहेको छ । आफ्नो अध्ययन पूरा गरेपछि गाउँपालिकामा फर्किएर काम गर्ने सहमतिमा छ जना छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















