अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी


काठमाडौँ, असार १। सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ ।सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । अधिक ज्येष्ठ कृष्ण औँसी आज सोमबार परेको हो ।
सोमबारे औँसी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको उहाँले बताउनुभयो । औँसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँसी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँसीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक सनातनी परम्परा रही आएको छ ।
माता, पिता नहुनेले भने औँसी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँसी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । यस अवसरमा विभिन्न तीर्थमा स्नान गर्नेको भीड लागिरहेको छ ।
आजै जेठ ३ गतेदेखि सुरु भएको अधिकमासअर्थात् मलमास पनि सकिने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ । यस अवसरमा काठमाडौँको दक्षिण पश्चिमस्थित मत्स्यनारायण मन्दिरमा मेला लागिरहेको छ । मेलाको आज अन्तिम दिन हो । यसैगरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको नृसिंहधाममा पनि एक महिने मेला लागिरहेको छ ।























