विश्वकप: नवप्रवेशी कुरासाओमाथि गोल वर्षा गर्दै जर्मनीको विजयी सुरुवात


अमेरिका । चार पटकको विश्व विजेता जर्मनीले जारी विश्वकपमा प्रभावसाली सुरुवात गरेको छ। विश्वकपमा पहिलो पटक सहभागि कुरासाओ माथि ७-१ को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। अमेरिकाको ह्युस्टन मा समपन्न खेलमा समूह ‘ई’ को उद्घाटन खेल जर्मनीले रवाफिलो जित निकाल्यो। तर नवप्रवेशी कुरासाओले जर्मनी विरुद्ध १ गोल फर्काउन सफल भयो।
जर्मनीले खेलको छैटौं मिनेटमै अग्रता लिएको थियो। पूर्व इंग्ल्यान्ड युवा टोलीका खेलाडी फेलिक्स नेम्चाले फ्लोरियन भिर्ट्सको आकर्षक टचपछि गरेको सटिक प्रहार जारी विश्वकपको सर्वाधिक छिटो गोलका रुपमा परिणत भएको थियो। तर जर्मनीलाई विश्वकप इतिहासकै क्षेत्रफल र जनसंख्याका हिसाबले सबैभन्दा सानो सहभागी राष्ट्र कुरासाओले चकित बनायो।

करिब १ लाख ५५ हजार जनसंख्या भएको क्यारिबियन टापुका लागि ज्युरिखका मिडफिल्डर लिभानो कोमेनेन्सियाले २१औं मिनेटमा बक्स बाहिरबाट गरेको प्रहार डिफ्लेक्ट हुँदै जर्मन गोलरक्षक म्यानुएल नुएरलाई कुनै मौका नदिइ गोलमा परिणत हुँदा विश्वकप इतिहासको पहिलो सहभागितामा ‘डेब्यु’ गोल बन्दै इतिहास रच्न टोली सफल भयो।
४० वर्षको उमेरमा आफ्नो पाँचौं विश्वकप खेलिरहेका नुएरले यससँगै जर्मनीका सबैभन्दा पाका अन्तर्राष्ट्रिय खेलाडीका रूपमा लोथर म्याथुसको कीर्तिमानलाइ पछि पार्न सफल भए। बराबरी गोल पछिको केही समय जर्मनीले संघर्ष गरेपनि त्यसपछि निरन्तर गोल गर्न सफल भयो। प्रशिक्षक जुलियन नेगल्सम्यानले ‘ड्रिंक्स ब्रेक’ पछि टोलीलाई आक्रामक रुपमा मैदानमा उपस्थित गराए। परिणामत ३८औं मिनेटमा निको श्लोटरबेकको हेडरमार्फत पुनः अग्रता बनायो।
पहिलो हाफको इन्जुरी समयमा उत्कृष्ट खेलिरहेका नेम्चामाथि रिचेड्ली बाजोएरले फाउल गरेपछि प्राप्त पेनाल्टीलाई काइ हाभर्ट्जले सहज रूपमा गोलमा परिणत गर्दै जर्मनीलाई ३-१ को आरामदायी अग्रता दिलाए।
दोस्रो हाफ सुरु भएको मात्र ६९ सेकेन्डमा जमाल मुसियालाले जोशुआ किमिखको पासमा गोल गर्दै जर्मनीको दबाब अझ बढाए। त्यसपछि नाथानिएल ब्राउन, डेनीज उन्डाभ र फेरि हाभर्ट्जले गोल थप्दा जर्मनीले सहज रूपमा ७-१ को विशाल जित दर्ता गर्यो।
यो नतिजाले जर्मनीलाई २०१४ विश्वकपको सेमिफाइनलमा ब्राजिलविरुद्ध हासिल गरेको ऐतिहासिक ७-१ को जितको सम्झना दिलायो। त्यही वर्ष जर्मनीले अन्तिम पटक विश्वकप उपाधि जितेको थियो। साथै, यो जितसँगै जर्मनी विश्वकप इतिहासमा सर्वाधिक २३९ गोल गर्ने राष्ट्र बनेको छ र उसले ब्राजिललाई पछि पारेको छ।
























