दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

नवलपुर टुडे


मुस्ताङ । लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी दुई महिनाका लागि निःशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ । समुद्री सतहको चार हजार ९९० मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल जाने पदमार्ग घिमेठाँटी र दामोदरकुण्ड धर्मशालामा तीर्थयात्रीका लागि निःशुल्क भोजन र आवासको प्रबन्ध मिलाइएको हो ।
दामोदरकुण्ड मुक्तिनाथ विकास समितिको क्षेत्रअधिकारभित्र रहेको पवित्र धार्मिकस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीका लागि म्याग्दीको अन्नपूर्ण–३ नारच्याङस्थित पुण्यश्वर महादेव शिवालय उपसमितिले निःशुल्क भोजन र त्यहाँ रहेको धर्मशालामा आवासको व्यवस्था मिलाएको विकास समितिका कोषाध्यक्ष एवं दामोदरकुण्ड तीर्थयात्री भोजन व्यवस्थापक समिति संयोजक मोहन पुर्जाले जानकारी दिए ।
उपसमितिद्वारा सङ्कलित चन्दा दानको रकम खर्चिने गरी भोजन व्यवस्थापन गर्न चार जना खटाइएको छ । दामोदरकुण्डमा दुई र घिमेठाँटीमा दुई कर्मचारीलाई भोजनको व्यवस्था मिलाउन खटाइएको छ । यसका लागि बर्सेनि रु पाँच लाख बढी खर्च हुने गरेको व्यवस्थापक पुर्जाले बताए ।
विसं २०६४ देखि नारच्याङस्थित गुप्तेश्वर महादेव उपसमितिले दामोदरकुण्ड तीर्थयात्रीका लागि निःशुल्क भोजनको व्यवस्था मिलाउँदै आएकामा कोभिड–१९ को समयमा दुई वर्ष तीर्थयात्रा बन्द हुँदा कार्यक्रम रोकिएको व्यवस्थापक पुर्जाले जानकारी दिए ।
तीर्थयात्रीका लागि भोजनसहित बासको व्यवस्था भएपछि ठूलो राहत मिलेको लोघेकर दामोदरकुण्ड–४ का वडासदस्य कृष्णकुमारीले जानकारी दिए । तीर्थयात्रीले भोजन र बस्नका लागि लत्ताकपडाको व्यवस्था मिलाउँदै यात्रा गर्न कठिन हुने भएकाले यस प्रकारको सुविधाले दर्शनार्थीको यात्रालाई सहज बनाएको उनले उल्लेख गरे ।
नेपाल—चीन उत्तरी क्षेत्रस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल हिन्दू धर्मावलम्बीहरूका सुविधाका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले २०७८ सालमा पुरुष र महिलाका लागि अगल–अलग बस्न मिल्नेगरी दुई धर्मशाला निर्माण गरेको गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए । गाउँपालिकाले दामोदरकुण्डको केही तल धर्मशालासहित बाथरुम र शौचालय निर्माण गरेको र घिमे ठाँटीमा पनि दुईवटा धर्मशाला गाउँपालिकाले नै निर्माण गरेको छ । दुईवटै धर्मशालाको क्षमता करिब १०० जना बढीको छ भने घिमेठाँटीमा रहेको धर्मशालाको क्षमता करिब ४० जनाको रहेको अध्यक्ष विष्टले बताए ।

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
अरुपनि पढ्नुहोस
सबै
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन
















