बिश्व

मदिरा त्याग्दा देखिन्छ अचम्मको सुधार, छाडेको केही दिनमै शरीरले गर्न थाल्छ ‘रिभर्स’

नवलपुर टुडे
२०८३ जेष्ठ ३० | बिहान ०६:०२ बजे

एजेन्सी । साथीभाइसँगको भेटघाट, दिनभरिको थकान मेट्न, खुसी बाँड्न वा दुःख भुलाउन कतिपयले मदिराको सहारा लिन्छन् । तर, हालैका विभिन्न वैज्ञानिक अध्ययनहरूले मदिराको कुनै पनि मात्रा स्वास्थ्यका लागि सुरक्षित नरहेको पुष्टि गरेका छन् ।

वैज्ञानिकहरूले हालै सार्वजनिक गरेका निष्कर्षहरूले समयमै मदिरा त्याग्न सके शरीरमा पुगेको धेरैजसो क्षतिलाई सुधार गर्न सकिने देखाएको छ ।

अमेरिकी स्वास्थ्य संस्था ‘नेसनल जुइस हेल्थ’का प्रबन्धक डा. एन्ड्रयू फ्रीम्यान भन्छन्, “मदिरा आफैँमा एक प्रकारको विषाक्त (टक्सिक) पदार्थ हो । हामी यसलाई कीटाणु मार्न प्रयोग गर्छौं । यस्तो अवस्थामा यसको कति मात्रा सुरक्षित होला र ?”

विश्व स्वास्थ्य संगठनसँग आबद्ध वैज्ञानिक जर्गेन रेहमका अनुसार मदिराकै कारण सिधै ६२ प्रकारका स्वास्थ्य समस्याहरू निम्तिने गर्दछन् । यसमा मदिराजन्य मुटुको रोग, कलेजोको समस्या, अल्सर र कलेजोमा बोसो जम्ने जस्ता रोगहरू पर्दछन् । यसबाहेक स्तन क्यान्सर, पक्षघात, मधुमेह र बिर्सिने रोगजस्ता अन्य ३० वटा रोगहरू बढाउन पनि मदिरा जिम्मेवार छ ।

यदि, समयमै मदिरा सेवन छोड्ने वा नियन्त्रण गर्ने हो भने यसले शरीरमा पुर्‍याएको धेरैजसो क्षतिलाई फेरि उल्ट्याउन (रिर्भस) अर्थात् ठीक गर्न सकिन्छ ।

मदिराको एउटै पेगले पनि पिएको २० मिनेटभित्रै हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाइदिन्छ । एकैपटक धेरै पिउने गर्दा २४ घण्टासम्म शरीरले भाइरस र ब्याक्टेरियासँग लड्न सक्दैन ।

मदिराले मस्तिष्कका कोषहरूबीचको सम्पर्क चुँडाइदिन्छ, जसले गर्दा मस्तिष्क सुक्दै वा सानो हुँदै जान्छ । हप्तामा ३ पेग मात्र पिउँदा पनि बिर्सिने रोगको जोखिम १५ प्रतिशतले बढ्छ ।

मदिराले हाम्रो डीएनएलाई क्षति पुर्‍याउँछ र शरीरमा ‘क्रोनिक इन्फ्लामेसन’ पैदा गर्छ, जुन क्यान्सरको मुख्य कारण हो । पुरुषमा मदिराका कारण ठूलो आन्द्राको क्यान्सर र महिलामा स्तन क्यान्सरको जोखिम उच्च हुन्छ ।

कसरी हुन्छ शरीरमा रिर्भस ?

मदिरा पिउन छोडेको केही दिनदेखि वा एक हप्ताभित्रै शरीरको प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता पुरानै अवस्थामा फर्कन थाल्छ । तर, वर्षौंदेखि अत्यधिक पिउनेहरूको हकमा भने यो क्षमता पूर्ण रूपमा सुधार नहुन पनि सक्छ ।

मदिरा त्यागेको पहिलो केही हप्तादेखि महिना दिनभित्रै मस्तिष्कको आकार र तन्तुहरूमा सुधार आउन थाल्छ । ध्यान केन्द्रित गर्ने क्षमता र सम्झना शक्ति पनि बिस्तारै फर्किन्छ ।

यदि, शरीरभित्र क्यान्सर सुरु भइसकेको छैन र तपाईंले मदिरा छोड्नुभयो भने, भविष्यमा मदिराकै कारण हुने क्यान्सरको जोखिम पूर्ण रूपमा टर्दछ । यद्यपि, शरीरलाई मदिरा सेवन नगर्ने मानिससरह पूर्ण रूपमा सुरक्षित बनाउन सुर्तीजन्य पदार्थ जस्तै करिब ३० वर्ष लाग्ने वैज्ञानिकहरू बताउँछन् ।

वैज्ञानिकहरूका अनुसार मदिराको थोरै मात्राले मुटुलाई फाइदा गर्छ भन्ने पुराना धारणाहरू अब गलत साबित हुँदै गएका छन् । त्यसैले संसारका प्रमुख स्वास्थ्य संस्थाहरूले अहिले एउटै सल्लाह दिने गर्छन्, “यदि पिउने गर्नुहुन्न भने सुरु नै नगर्नुहोस् । र, यदि पिउनुहुन्छ भने जति सक्दो चाँडो पूर्ण रूपमा छोडिदिनुहोस् ।” सीएनएनबाट

कमेन्टहरु