झापाको पाठामारीस्थित नेपाल–भारत सीमा क्षेत्र दशगजामा लगाइएको चिया खेती हटाइयो


झापा। झापाको कचनकवल गाउँपालिका–५ पाठामारीस्थित नेपाल–भारत सीमा क्षेत्र दशगजामा लगाइएको चिया खेती शुक्रबार दुवै देशको संयुक्त सीमा सुरक्षा गस्ती टोलीले हटाएको छ ।
नेपालको पाठामारी र भारतको किशनगञ्ज क्षेत्रको ११४ नम्बर सीमा स्तम्भ नजिक दशगजामा सुनकोशी चिया बगानको ६५ वटा चियाको बोट दशगजा क्षेत्रमा परेको हुँदा हटाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय चौहानले जानकारी दिए ।
उनका अनुसार दशगजा क्षेत्र खाली छाड्नुपर्ने भएकाले सो क्षेत्रमा लगाइएको चियाको बोट हटाइएको हो । दशगजा क्षेत्र खाली गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती टोली आज उक्त क्षेत्रमा पुगेको थियो ।
यसैबीच, आजै बिर्तामोडमा नेपाल र भारतको सीमा सम्बन्धी द्विपक्षीय फिल्ड सर्भे बैठक सम्पन्न भएको छ । उक्त बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालको तथा किशनगञ्जका जिल्ला अधिकारी विशाल राजले भारतीय टोलीको नेतृत्व गरेका थिए ।
नापी विभाग काठमाडौँको आयोजनामा भएको उक्त बैठकमा इलाम, पाँचथर र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखहरु तथा एसएसबीका सीमावर्ती जिल्लाका प्रमुखहरु, जिल्ला बन कार्यालयका प्रमुखहरुलगायतको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चौहानले जानकारी दिए।
























