इरान युद्धले विश्व आर्थिक वृद्धिदर सुस्त बनाउने चेतावनी


वासिङ्टन डीसी । इरानसँगको जारी अमेरिका–इजरायली युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धिदर कोभिड–१९ महामारीपछिकै सबैभन्दा कमजोर स्तरमा पुग्ने अनुमान गरिएको छ ।
विश्व बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार सन २०२६ मा विश्वको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतमा सीमित रहने छ । यो सन २०२५ तुलनामा निकै कम हो । गएको वर्ष विश्व अर्थतन्त्र २ दशमलव ९ प्रतिशतले बढेको थियो ।
ऊर्जा आपूर्तिमा अवरोध अपेक्षाभन्दा गम्भीर भयो र त्यससँगै वित्तीय क्षेत्र पनि दबाबमा पर्यो भने सन् २०२६ मा विश्व आर्थिक वृद्धिदर १ दशमलव ३ प्रतिशतमा झर्न सक्ने चेतावनी बैंकले दिएको छ । इरान युद्धका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापार मार्ग स्ट्रेट अफ होर्मुज ठप्प प्रायः छ । जसले गर्दा आपूर्ति अभावमा विश्वभर तेल, प्राकृतिक ग्यास तथा मलको मूल्य तीव्र रूपमा बढेको छ ।
युद्धका कारण सबै विकासशील अर्थतन्त्रहरूको वृद्धि सन २०२५ को तुलनामा कमजोर हुने अनुमान विश्व बैंकले गरेको छ । विशेषगरी चीन र भारतबाहेकका विकासशील देशहरूमा प्रतिव्यक्ति आय कोभिड–१९ महामारीअघिको स्तरमा फर्किन सन् २०२८ पछिसम्म लाग्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । अर्थशास्त्रीहरूका अनुसार ऊर्जा र खाद्य मूल्यमा भइरहेको वृद्धिले गरिब तथा आयातमा निर्भर राष्ट्रहरूलाई सबैभन्दा बढी असर पार्नेछ ।
























