समाचार

सुस्तामा एसएसबी हतियारसहित प्रबेश, स्थानीयले यो बिहार होइन भन्दै लखेटिए

जगत ठाडा मगर
२०८३ जेष्ठ २९ | मध्यान्ह ०२:०२ बजे

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज बिहान भारतीय सुरक्षाकर्मी (एसएसबी) हरू छिरेपछि स्थानीय र भारतीय सुरक्षाकर्मी बीच विवाद उत्पन्न भएको छ । सीमा पार गरेर नेपाली भूमिमा हतियारसहित प्रवेश गरेपछि स्थानीय सुस्ताबासीहरूले त्यसको प्रतिकार गरे ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रहेका रवीन्द्र जैसवालका अनुसार स्थानीयहरूले सुरुमा सीमा पार गर्नुको कारण सोधेका थिए । तर, सुरक्षाकर्मीहरूले स्थानीयहरूको कुरा नसुनी सीमाभित्रै रहेपछि उनीहरूले प्रतिकार गरेका हुन् । एक स्थानीयका अनुसार, सीमा क्षेत्रमा एसएसबी आज बिहान गस्ती गर्न आएका थिए । हतियारसहित उपस्थित भएका भारतीय सुरक्षाकर्मीहरूलाई देखेपछि नागरिकहरूले पनि आफ्नो आक्रोश पोखेका थिए ।

सुस्तामा भारतीय एसएसबीको निरन्तर उपस्थितिमाथि पनि प्रश्न उठाएका थिए । एक स्थानीयले त मुखै फोरेर भनेका थिए, ‘किन यहाँ बारम्बार आउनुहुन्छ ? यो बिहार होइन ।’ नेपाली पक्षको सम्बन्धित निकायले यस विषयमा चासो नदिएकाले सुस्तावासीहरू पटक पटक भारतीय सुरक्षाकर्मीरबाट मारमा पर्दै आएका छन । ‘भारतका सुरक्षाकर्मीहरूको यस किसिमको ज्यादतीले सुस्तावासी जहिले पनि यसरी दोहोरो मार खेपिरहेको छ ।

नेपाल सरकार सम्बन्धित निकाय र पक्षहरूले यस विषयमा जानकारी नदिँदा या आवश्यक परेका बेला नबोलिदिँदा झन् गाह्रो परिरहेको छ । यसअघि प्रधानमन्त्री शाहले नेपालले पनि भारतीय भुमी मिचेको बिबादित अभिव्यक्ति दिएपछि जेठ १९ मा पनि विवाद चर्किएको थियो । सुस्ता क्षेत्रलाई लिएर नेपाल र भारत पक्षबीच पटक-पटक विवाद रहँदै आएको छ । त्यतिबेला तटबन्ध निर्माण कार्य हुँदै गर्दा भारतका सुरक्षाकर्मीहरू आएर ‘विवादित क्षेत्रमा काम नगर्न’ भनेका थिए ।

कमेन्टहरु