इरान युद्धको असर: खुम्चियो बेलायतको अर्थतन्त्र


लन्डन । अप्रिल महिनामा बेलायतको अर्थतन्त्र खुम्चिएको छ । इरानसँगको युद्धका कारण ऊर्जाको मूल्यमा भएको वृद्धिको असर देखिन थालेसँगै अप्रिलमा बेलायतको अर्थतन्त्रमा शून्य दशमलव १ प्रतिशतको सङ्कुचन आएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार मार्चमा शून्य दशमलव ३ प्रतिशतले बढेको कुल गार्हस्थ उत्पादन (जीडीपी) अप्रिलमा घटेर ऋणात्मक अवस्थामा पुगेको हो । अप्रिलमा आर्थिक गतिविधि कमजोर हुने अनुमान अर्थशास्त्रीहरूले गरेका थिए । यो कमी विशेषगरी इरानले विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग स्टेट अफ होर्मुज बन्द गरेपछि विश्वभर ऊर्जा मूल्य बढ्नु र त्यसको असर बेलायती अर्थतन्त्रमा पर्न थालेसँग जोडिएको बताइएको छ ।
यो तथ्याङ्कले प्रधानमन्त्री किर स्टार्मर नेतृत्वको सरकारको ‘बेलायत निर्माण अभियान’ र १५ लाख नयाँ घर निर्माण गर्ने प्रतिबद्धतामाथि पनि प्रश्न उठाउने खालको मानिएको छ । बेलायतकी अर्थमन्त्री रेचल रिभ्सले युद्ध सुरु हुनुअघि अर्थतन्त्र अपेक्षाभन्दा राम्रो अवस्थामा रहेको दाबी गरेकी छिन् । तथ्याङ्क सार्वजनिक भएपछि उनले भनिन्, ‘मध्यपूर्वको द्वन्द्व सुरु हुनुअघि आर्थिक वृद्धि अपेक्षाभन्दा राम्रो थियो र मुद्रास्फीति घटिरहेको थियो । यो हामीले चाहेको वा सहभागी भएको युद्ध होइन, तर यसको प्रभाव बेलायतभित्र पनि पर्नेछ,’ ।
आफ्नो आर्थिक नीतिका कारण बेलायती अर्थतन्त्र युद्धबाट उत्पन्न अतिरिक्त लागत सामना गर्न सक्षम अवस्थामा रहेको पनि उनले गरेकी छिन् । अप्रिलसम्मको तीन महिनाको औसत हेर्दा बेलायतको जीडीपी अझै शून्य दशमलव ७ प्रतिशतले बढेको देखिन्छ । तर विश्लेषकहरूका अनुसार युद्धका कारण बढ्दो तेल तथा ऊर्जा मूल्यले आगामी महिनाहरूमा अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने सम्भावना छ ।























