नेपाल–यूएई आर्थिक सहकार्य विस्तारबारे उच्चस्तरीय छलफल


प्रवास दुवई, यूएई | ११ जुनको दिन संयुक्त अरब इमिरेट्स (यूएई) सरकारका विदेश व्यापार मन्त्री Dr. Thani bin Ahmed Al Zeyoudi सँग नेपालका राजदूत तेज बहादुर क्षेत्री ले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटका क्रममा नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल भएको राजदूतावासले जनाएको छ। विशेषगरी लगानी, व्यापार, पर्यटन, सूचना प्रविधि (आईटी) तथा अन्य सम्भावित सहकार्यका क्षेत्रहरूमा दुई पक्षबीच विचार आदान–प्रदान भएको थियो।
भेटमा मन्त्री डा. थानी बिन अहमद अल जेयुदीले नेपाल र यूएईबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ, व्यापक र परिणाममुखी बनाउने दिशामा यूएई सरकार सकारात्मक रहेको बताउनुभयो। उहाँले व्यापार, लगानी, पर्यटन तथा कृषिलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न यूएई तयार रहेको धारणा व्यक्त गर्नुभएको थियो।
राजदूत क्षेत्रीले नेपालमा लगानी तथा व्यापारका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै नेपाली पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकासका क्षेत्रमा यूएईको सहभागिता बढाउन आग्रह गर्नुभएको बताइएको छ। उक्त भेटवार्तामा नेपाली राजदूतावासका प्रथम सचिव भूपेन्द्र घिमिरे तथा तृतीय सचिव सोनिया डोटेल पनि सहभागी रहनुभएको थियो।
नेपाल र यूएईबीच आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप उचाइमा पुर्याउने उद्देश्यले भएको यो भेटलाई दुई देशबीचको सहकार्य विस्तारका लागि महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।
























