थाइल्याण्डकी राजकुमारीको निधन


बैंकक । थाइल्याण्डकी राजकुमारी बज्रकितियाभाको ४७ वर्षको उमेरमा निधन भएको छ। तीन वर्षभन्दा बढी समयदेखि कोमामा रहेकी राजकुमारीको बिहीबार राति निधन भएको थाइ शाही दरबारले शुक्रबार आधिकारिक घोषणा गरेको हो।
राजकुमारी बज्रकितियाभा राजा वजिरालोङकोर्नकी सात सन्तानमध्ये सबैभन्दा जेठी हुन्। उनले अमेरिकाको कर्नेल विश्वविद्यालयबाट कानूनमा उच्च शिक्षा हासिल गरेकी थिइन्।
उनले अस्ट्रियाका लागि थाइल्याण्डको राजदूत र संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयमा क्षेत्रीय राजदूतका रूपमा काम गरेकी थिइन्। उनलाई विशेषगरी कारागार सुधार र महिला कैदीहरूको अधिकारका लागि काम गर्ने अभियन्ताका रूपमा चिनिन्थ्यो।
थाइल्याण्डको राजगद्दीको उत्तराधिकारीका रूपमा समेत उनलाई निकै प्रभावशाली मानिएको थियो। ७३ वर्षीय राजा वजिरालोङकोर्नले हालसम्म आफ्नो उत्तराधिकारी घोषणा नगरेको अवस्थामा राजकुमारीको निधनले थाइ शाही परिवारमा उत्तराधिकारको विषयलाई थप अन्योलपूर्ण बनाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।























