समाज

विजयसाल सामुदायिक होमस्टेमा पञ्च धातुको मूर्ति स्थापना गरिने

रासस
२०८३ जेष्ठ २९ | बिहान ०८:०२ बजे

कञ्चनपुर । थारु समुदायको पीडा, सङ्घर्ष र मुक्तिको इतिहासलाई जीवन्त बनाउँदै पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित विजयसाल सामुदायिक घरबास (होमस्टे)मा पञ्च धातुको मूर्ति स्थापना गरिने भएको छ ।

मुक्त कमैया महिलाको जीवन सङ्घर्ष झल्किने मूर्तिले थारु समुदायका मुक्त कमैया समुदायको इतिहास संरक्षणसँगै पर्यटक आकर्षण बढाउने अपेक्षा गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ३५ लाख लागतमा सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर पञ्च धातुको मूर्ति निर्माण गर्न लागिएको हो । होमस्टे परिसरमा स्थापना गरिने उक्त मूर्तिले जमिन्दारी प्रथाका बेला कमैया महिलाले भोग्नुपरेको कठिन जीवन र त्यसबाट प्राप्त मुक्तिको सन्देश प्रस्तुत गर्नेछ ।

विजयसाल होमस्टे सञ्चालक समितिका अध्यक्ष परदेशनीकुमारी डगौराले मूर्ति निर्माणको कामको ठेक्कामार्फत ललितपुरमा भइरहेको जानकारी दिइन् । मूर्ति निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिइन् ।

“हामीले जमिन्दारको घरमा श्रम गर्न बाध्य मुक्त कमैया महिलाको अवस्थालाई झल्काउने पूर्णकदको मूर्ति स्थापना गर्न लागेका हौँ”, उनले भनिन्, “यसले नयाँ पुस्तालाई विगतको इतिहास बुझ्न र मुक्त कमैया आन्दोलनको महत्वबारे जानकारी दिन सहयोग पुग्नेछ ।” मूर्ति राख्नका लागि करिब रु पाँच लाखको लागतमा फाउन्डेसन निर्माणको काम भइरहेको उनले बताइन् । असार मसान्तभित्र निर्माण तथा स्थापना कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

थारु समुदायको मौलिक संस्कृति, रहनसहन र परम्परालाई संरक्षण गर्दै सञ्चालनमा रहेको विजयसाल होमस्टे अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ स्वदेशी तथा विदेशी पर्यटकले थारु समुदायका मौलिक परिकार, सांस्कृतिक प्रस्तुति र ग्रामीण जीवनशैलीको अनुभव लिन पाउने व्यवस्था छ ।

हाल छवटा घरमा सञ्चालन भइरहेको होमस्टे व्यवसायमा आबद्ध प्रतिपरिवारले मासिक रु ३० देखि रु ३५ हजारसम्म आम्दानी गर्दै आएका छन् । होमस्टे सञ्चालकका अनुसार पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ भने विदेशी पर्यटक पनि थारु संस्कृति नजिकबाट बुझ्न यहाँ पुग्ने गरेका छन् ।

बस्तीकी अगुवा शोभा खुनाले मूर्ति स्थापनापछि होमस्टेको पहिचान अझ फराकिलो हुने विश्वास व्यक्त गरिन् । “मूर्ति बनेपछि पर्यटकले यहाँ बस्नेमात्र होइन, मुक्त कमैयाको इतिहास पनि बुझ्न पाउनेछन्”, उनले भनिन्, “हाम्रा पुर्खाले भोगेको दुःख, सङ्घर्ष र मुक्तिको यात्रालाई पुस्तान्तरण गर्न यो मूर्ति महत्त्वपूर्ण माध्यम बन्नेछ ।”

उनका अनुसार मूर्तिले बस्तीको सांस्कृतिक तथा ऐतिहासिक महत्त्व उजागर गर्नुका साथै स्थानीय युवापुस्तालाई आफ्नो इतिहासप्रति गर्व गर्न प्रेरित गर्नेछ । पर्यटनसँगै इतिहास र संस्कृतिलाई जोड्ने उद्देश्यले निर्माण हुन लागेको उक्त मूर्तिले विजयसाल होमस्टेलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कमेन्टहरु