घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुरा देखि हुम्ला जाने सडक अनिश्चितकालका लागि अवरुद्ध

उमेश रोकाया
२०८३ जेष्ठ २८ | मध्यान्ह ०८:०२ बजे

बाजुरा, जेठ २८ । बाजुरा देखि हुम्ला जाने कर्णाली करिडोर सडक अनिश्चितकालका लागि अवरुद्ध गरिएको छ । बाजुराको रानीसैन क्षेत्र लाम्पाटामा भएको कुटपिटको घटनालाई लिएर बाजुराबासीहरुले सडकखण्डमा बिहीवारबाट यातायात अवरोध गरेका हुन् । बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा प्रहरी चौकी स्थापनाको विषयलाई लिएर भएको घटनामा संलग्न व्यक्तिहरुलाई हालसम्म पनि कारबाही नगरिएको भन्दै अनिश्चित कालका लागि सडकखण्ड अवरुद्ध गरेका छन् ।

रानीसैन संघर्ष समितिले हुम्लाका बासिन्दाहरुले बाजुराबासीमाथि गरेको आक्रमणको घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गर्दै बुधवार जिल्लाका मुख्य बजारहरुमा नाराबाजीसहित प्रदर्शन समेत गरेको थियो । घटना भएको महिनौ दिन बितिसक्दा पनि संलग्न व्यक्तिहरुका विरुद्ध मुद्धा दर्ता गरेर पक्राउ पुर्जी समेत जारी भइसक्दा पनि पक्राउ नगरेकोमा आक्रोश पोख्दै दबाबमूलक आन्दोलन जारी राखेका छन् ।

बाजुराबासीमाथि कुटपिट तथा दर्व्यवहार गर्ने व्यक्तिहरुलाई पक्राउ गरेसम्म विरोध प्रदर्शनसहित कर्णाली करिडोर सडकमा यातायात सुचारु नहुने संघर्ष समितिले जनाएको छ । सडकखण्ड अवरुद्ध हुँदा बाजुरा देखि हुम्ला चल्ने सम्पूर्ण यातायातका साधन बीच बाटोमै रोकिएका छन् ।
यस विषयमा बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अवरुद्ध कर्णाली करिडोर खुलाउन प्रयास भइरहेको बताएका छन् । यसअघि जेठ ३ र ५ गते लाम्पाटामा हुम्लाका बासिन्दाहरुले बाजुराका स्थानीय, जनप्रतिनिधि, कर्मचारी, प्रहरीसहित पर्यटकमाथि आक्रमण तथा कुटपिट गरेर घाइते बनाएको थिए । यस्तै जेठ २३ गते हुम्ला क्षेत्रका बासिन्दाले रानीसैन क्षेत्रबाट भोटे समुदायलाई लखेट्नुका साथै गोठमा आगजनी गरेको तथा दुर्व्यवहार गर्ने गरेको स्थानीयले बताउँदै आएका छन् ।

जेठ ३ गते हुम्लाबाट आएका स्थानीयले लाम्पाटा गाउँ पुगेर वडा सदस्य पेमागारा गुरुङ लगायत स्थानीयलाई कुटपिट गरी बन्धक बनाएका थिए । पछिल्लो घटनाले रानीसैन क्षेत्रको विवाद झन् जटिल बन्दै गएको स्थानीयको भनाइ छ । स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी आगजनी, कुटपिट तथा लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।

कमेन्टहरु