देश, प्रबास, बजार/ब्यबसाय, भ्रष्टाचार, मुख्य समाचार, समाचार
नेपाल विद्युत प्राधिकरणको लुट बिलमा रु. ६२८, भुक्तानीमा रु. ६८४ ! समयमै तिर्दा पनि अतिरिक्त रकम असुलिएको


नेपाल विद्युत प्राधिकरणको लुट बिलमा रु. ६२८, भुक्तानीमा रु. ६८४ ! समयमै तिर्दा पनि अतिरिक्त रकम असुलिएको, बिल काटिएको तीन दिनमै भुक्तानी, तर रु. ५५ बढी रकम किन ? नेपाल विद्युत् प्राधिकरणको बिलिङ प्रणालीमाथि प्रश्न
दुवई| नेपाल विद्युत् प्राधिकरण (NEA) को बिलिङ तथा अनलाइन भुक्तानी प्रणालीप्रति सेवाग्राहीको असन्तुष्टि बढ्दै गएको छ। बिलमा तिर्नुपर्ने रकम रु. ६२८.७१ उल्लेख भए पनि अनलाइन भुक्तानी गर्दा रु. ६८४ असुलिएको घटना सार्वजनिक भएपछि उपभोक्ताहरूले प्राधिकरणको पारदर्शितामाथि प्रश्न उठाएका छन्।

प्राप्त बिल र भुक्तानी रसिदअनुसार सम्बन्धित ग्राहकले बिल काटिएको तीन दिनभित्रै अनलाइन माध्यमबाट रकम भुक्तानी गरेका थिए। समयमै भुक्तानी गर्दा पनि रु. ५५.२९ अतिरिक्त रकम असुलिएको देखिएपछि ग्राहक आक्रोशित बनेका छन्।

ग्राहकहरूको प्रश्न छ, “बिलमा देखिएको रकमभन्दा बढी रकम किन तिर्नुपर्यो ? यदि कुनै अतिरिक्त शुल्क वा समायोजन थियो भने त्यसको विवरण बिलमै किन देखाइएन ?” सार्वजनिक सेवा प्रवाह गर्ने निकायले उपभोक्तालाई स्पष्ट र पारदर्शी जानकारी दिनुपर्ने भए पनि बिल र भुक्तानी रकममा देखिएको अन्तरले प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको उपभोक्ताहरूको भनाइ छ।
सामाजिक सञ्जालमा समेत यस विषयले चर्चा पाउन थालेको छ। धेरैले यस घटनाको निष्पक्ष छानबिन गर्दै वास्तविक कारण सार्वजनिक गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरेका छन्।
उपभोक्ताहरूले बिलिङ प्रणालीलाई थप पारदर्शी बनाउन, अतिरिक्त रकम असुलीको आधार खुलाउन तथा भविष्यमा यस्ता विवाद दोहोरिन नदिन आवश्यक सुधार गर्न आग्रह गरेका छन्। अन्यथा यस्ता घटनाले सार्वजनिक संस्थाप्रतिको जनविश्वास कमजोर बनाउने उनीहरूको चेतावनी छ।
























