खेलकुद, दुबई यूएई, प्रबास

तेक्वान्दो क्षेत्रमा नेपालीको पहिचान : आदिवासी समूदायको सान घर्तीमगर युएई तेक्वान्दो फेडेरेसनबाट सम्मानित

कबिराज राजबंशी
२०८३ जेष्ठ २७ | मध्यान्ह ०६:०२ बजे

IMG 20260610 170913

प्रवास दुवई, यूएई


नेपाली तेक्वान्दो प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री तथा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) UAE का सल्लाहकार एवं नेपाल मगर संघ शाखा UAE का पूर्व अध्यक्ष नयन घर्तीमगर लाई युएई तेक्वान्दो फेडेरेसनले सन् २०२५–२०२६ खेल सत्रका तेक्वान्दो च्याम्पियनसिपहरूमा रेफ्रीको माध्यमबाट पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै सम्मान–पत्र प्रदान गरेको छ।

FB IMG 1781096400978

 

युएई तेक्वान्दो फेडेरेसनको बोर्ड अफ डाइरेक्टर्सद्वारा जारी प्रशंसापत्रमा घर्तीमगरले विभिन्न तेक्वान्दो प्रतियोगिताहरूमा रेफ्रीको रूपमा निर्वाह गरेको महत्त्वपूर्ण, विशिष्ट र उदाहरणीय भूमिकाको प्रशंसा गरिएको छ। उहाँको निष्पक्ष निर्णय, व्यावसायिक दक्षता तथा समर्पित कार्यसम्पादनले फेडेरेसनका कार्यक्रम र प्रतियोगिताहरूलाई सफल बनाउन उल्लेखनीय योगदान पुर्‍याएको जनाइएको छ।FB IMG 1781096405631

 

तेक्वान्दो क्षेत्रसँग लामो समयदेखि आबद्ध घर्तीमगर रोजगारीको सिलसिलामा सन् २०११ मा युएई पुगेका थिए। प्रारम्भिक चरणमा सुरक्षा गार्डको रूपमा कार्यरत रहे पनि खेलप्रतिको आफ्नो लगाव र प्रतिबद्धतालाई कहिल्यै कमजोर हुन दिएनन्। निरन्तर अभ्यास, अथक मिहिनेत र दृढ संकल्पका साथ अगाडि बढ्दै उहाँले सन् २०१६ देखि युएईमा तेक्वान्दो प्रशिक्षक (कोच) तथा अन्तर्राष्ट्रिय रेफ्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।

 

आदिवासी जनजाति समुदायका एक प्रतिनिधि व्यक्तित्वका रूपमा स्थापित घर्तीमगरको यो उपलब्धिले मगर समुदाय मात्र नभई सम्पूर्ण नेपाली तथा प्रवासी आदिवासी जनजाति समुदायको गौरव बढाएको छ। विदेशको भूमिमा रहेर खेलकुदमार्फत नेपालको पहिचानलाई उचाइमा पुर्‍याउन सफल उहाँको योगदानलाई नेपाली समुदायले गर्वका साथ हेरेको छ।

FB IMG 1781096398723

युएई तेक्वान्दो फेडेरेसनबाट प्राप्त यो सम्मानले घर्तीमगरको खेल यात्रामा थप उत्साह, ऊर्जा र प्रेरणा थप्ने विश्वास गरिएको छ। साथै, आगामी दिनहरूमा पनि उहाँले अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै नयाँ सफलताको कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ।

कमेन्टहरु