श्री सरस्वती प्राथमिक विद्यालयको भवन निर्माण कार्य शुभारम्भ


गरुडा, रौतहट । मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत योजना अन्तर्गत गरुडा नगरपालिका–५ स्थित श्री सरस्वती प्राथमिक विद्यालय, महम्मदपुर को नयाँ विद्यालय भवन निर्माण कार्य विधिवत रूपमा शुभारम्भ गरिएको छ। विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच धार्मिक विधिअनुसार पूजा–आराधना गरी भवन निर्माण योजनाको शिलान्यास गरिएको हो।
उक्त योजनाको शुभारम्भ स्थानीय जनप्रतिनिधि, राजनीतिक नेतृत्व तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न भएको थियो। भवन निर्माण योजनाको कार्यान्वयनमा आफ्नो विशेष पहल रहेको बताउँदै आयोजक पक्षले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
शिलान्यास कार्यक्रममा पूर्व वडा अध्यक्ष जयमंगल राय यादव, वर्तमान वडा अध्यक्ष रामबिनोद साह, प्रतिनिधिसभा सदस्यका प्रत्याशी राजकुमार दास, जसपा नेपाल का संघीय परिषद् सदस्य धिरेन्द्र प्रसाद यादव, जसपा नेता सुन्दर पटेल, गरुडा नगरपालिकाका शिक्षा प्रमुख सरोज गौतम लगायत स्थानीय बुद्धिजीवी, अभिभावक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले विद्यालय भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीहरूलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध हुने बताएका थिए। उनीहरूले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा समेत यस्ता पूर्वाधार निर्माणका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। स्थानीयवासीहरूले लामो समयदेखि आवश्यक रहेको विद्यालय भवन निर्माण कार्य सुरु भएकोमा खुशी व्यक्त गर्दै योजनालाई गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
























