युक्रेन–रुसबिच फेरि आक्रमण


काठमाडौँ । युक्रेन र रुसबिच फेरि घातक हवाई आक्रमणहरू भएको छ । जसले युद्ध विरामका लागि भइरहेका कूटनीतिक प्रयासलाई थप जटिल बनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लन्डनमा युरोपेली नेताहरूसँग भेट गरेको केही घण्टापछि नै दुवै पक्षले एक–अर्कामाथि आक्रमण गरेका हुन् । युक्रेनको दक्षिणपूर्वी क्षेत्र झापोरिज्जियामा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। क्षेत्रीय गभर्नरका अनुसार रूसले ड्रोन र गोलाबारी प्रयोग गरी आवासीय भवन, सवारी साधन र पूर्वाधारमा क्षति पुर्याएको हो।
युक्रेनले पनि रुस नियन्त्रित क्रिमिया क्षेत्रमा ड्रोन आक्रमण गरेको छ, जसमा रेलका एक सहायक चालकको मृत्यु भएको र चालक घाइते भएको बताइएको छ। रुसको भोल्गोग्राद क्षेत्रमा ऊर्जा पूर्वाधारमाथि लक्षित ड्रोन आक्रमण रोकिएको दाबी गरिएको छ । त्यस क्रममा खसेका भग्नावशेषले आगलागी गराएको भए पनि मानवीय क्षति नभएको जनाइएको छ।
त्यस्तै, रुसको नोभोरोसिस्क बन्दरगाहमा ड्रोन आक्रमणपछि ठुलो आगलागी भएको छ । यी आक्रमणहरू युक्रेनले रुससँग प्रत्यक्ष युद्ध विराम वार्ता गर्ने प्रस्ताव अघि बढाइरहेको बेला भएका हुन्। युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गरेको छ र पूर्ण युद्ध विरामका लागि तयार रहेको जनाएको छ ।
तर रुसले तत्काल यस्तो भेटको औचित्य नरहेको भन्दै अस्वीकार गरेको छ।लन्डनमा भएको भेटपछि बेलायतका प्रधानमन्त्री किर स्टार्मर, जर्मनीका चान्सलर फ्रेडरिख मेख र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले जेलेन्स्कीको प्रत्यक्ष वार्ता प्रस्तावलाई समर्थन गरेका छ।
























