बिश्व

सात वर्षपछि उत्तर कोरियामा पुगे सी जिनपिङ

एजेन्सी
२०८३ जेष्ठ २५ | मध्यान्ह ०१:०२ बजे

प्योङयाङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरिया पुगेका छन् । दुईदिने राजकीय भ्रमणका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ता गर्ने कार्यक्रम रहेको छ । सोमबार दिउँसो सी जिनपिङ उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका हुन् । विमानस्थलमा किम जोङ उन र उनकी पत्नी री सोल जु स्वयं उपस्थित भई सिको स्वागत गरेका थिए । सीको साथमा पत्नी फेङ लियुआन छिन् ।

राजधानी प्योङयाङका सडकहरू चिनियाँ झण्डाले सजाइएका थिए भने केही स्थानमा सी जिनपिङका विशाल तस्बिरहरू पनि राखिएका थिए । यो भ्रमण सन २०१९ यता सी जिनपिङको पहिलो उत्तर कोरिया भ्रमण हो । साथै यो उनको यस वर्षको पहिलो विदेश भ्रमणसमेत हो । केही साताअघि सिले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई छुट्टाछुट्टै आतिथ्यता दिएका थिए ।

विश्लेषकहरूका अनुसार चीनले आफूलाई विश्व राजनीतिमा प्रभावशाली शक्ति र मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका बेला यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ । भ्रमणअघि उत्तर कोरियाली सञ्चारमाध्यमलाई पठाएको सन्देशमा सी जिनपिङले चीन र उत्तर कोरियाबीचको परम्परागत मित्रता समय र अन्तर्राष्ट्रिय परिस्थितिको परिवर्तनसँगै अझ मजबुत बनेको बताएका छन् ।

हालका वर्षहरूमा उत्तर कोरिया र रुसबीच सम्बन्ध नजिकिँदै गए पनि चीन उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण आर्थिक सहयोगी र कूटनीतिक साझेदार रहेको सन्देश दिन बेइजिङले यो भ्रमणलाई उपयोग गरेको विश्लेषण गरिएको छ ।

सीको भ्रमणअघि उत्तर कोरियाली सञ्चारमाध्यमले किम जोङ उनले एक प्रमुख हतियार उत्पादन कारखानाको निरीक्षण गरेको जानकारी दिएका थिए । त्यहाँ उनलाई विभिन्न प्रकारका ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्र उत्पादन विस्तारबारे जानकारी गराइएको थियो । गत साता उनले आणविक हतियार निर्माणमा प्रयोग हुने सामग्री उत्पादन गर्ने नयाँ कारखानाको समेत निरीक्षण गर्दै देशको आणविक शक्ति तीव्र रूपमा विस्तार गरिने बताएका थिए ।

यद्यपि सी जिनपिङ र किम जोङ उनबीचको वार्तामा उत्तर कोरियाको आणविक कार्यक्रम कति प्राथमिकतामा पर्नेछ भन्ने स्पष्ट छैन । चीनले उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर लामो समयदेखि सावधानी अपनाउँदै आएको छ । यस्तो कार्यक्रमले क्षेत्रीय अस्थिरता बढाउन सक्ने र अमेरिकाको सैन्य ध्यान पूर्वी एसियातर्फ केन्द्रित गराउन सक्ने चिनियाँ चिन्ता रहँदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियासँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्ने इच्छा पटक–पटक व्यक्त गर्दै आएका छन्। आफ्नो पहिलो कार्यकालमा उनले किम जोङ उनसँग तीनपटक भेटवार्ता गरेका थिए । गत वर्ष किम जोङ उनले अमेरिका आणविक निःशस्त्रीकरणको मागबाट पछि हटे पुनः ट्रम्पसँग वार्ताका लागि तयार रहेको संकेत दिएका थिए । गत मे महिनामा बेइजिङमा भएको ट्रम्प–सी जिनपिङ भेटवार्तामा पनि कोरियाली प्रायद्वीपको अवस्थाबारे छलफल भएको थियो ।

कमेन्टहरु