कपिलवस्तुका पत्रकारलाई दुई दिने AI तालिम सम्पन्न


कपिलवस्तु, जेठ २३ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना तथा विजयनगर गाउँपालिकाको सहयोगमा पत्रकारहरूका लागि दुई दिने कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ।
जेठ २२ र २३ गते सञ्चालन गरिएको तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो। तालिममा कृत्रिम बुद्धिमत्ताको परिचय, पत्रकारितामा AI को प्रयोग, समाचार संकलन तथा लेखनमा AI का सम्भावना र चुनौती, तथ्य परीक्षण (फ्याक्ट चेकिङ), डिजिटल सुरक्षा लगायतका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।
तालिमको उद्देश्य पत्रकारहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै समाचार सम्प्रेषणलाई थप प्रभावकारी, छिटो र गुणस्तरीय बनाउन सहयोग पुर्याउनु रहेको बताइएको छ। सहभागीहरूले AI सम्बन्धी व्यवहारिक अभ्याससमेत गरेका थिए।
कार्यक्रमको समापनमा आयोजक तथा सहयोगी संस्थाका प्रतिनिधिहरूले पत्रकारितामा प्रविधिको बढ्दो प्रयोगसँगै पत्रकारहरूलाई नयाँ सीप र ज्ञान आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले पेशागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
























