देश, समाचार, समाज

कपिलवस्तुको विजयनगर-३ मा १ सय ३५ जना जेष्ठ नागरिकलाई सम्मान

धर्मेन्द्र कुमार कुर्मी
२०८३ जेष्ठ २२ | मध्यान्ह १०:०२ बजे

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाकाे ३ नम्बर वडा कार्यालयले जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वार्ड भित्रका १ सय ३५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

वार्ड सचिव सर्वजित कुमार यादवका अनुसार ७३ वर्ष उमेर पूरा गरेका जेष्ठ नागरिकलाई झुल र टर्चलाइट वितरण गरी सम्मान गरिएको हो । जेष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै उनीहरूको योगदानको कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले जेष्ठ नागरिकहरू समाजका अनुभव र ज्ञानका भण्डार भएकाले उनीहरूको सम्मान र संरक्षण सबैको दायित्व भएको बताइन् । उनले आगामी दिनमा पनि ज्येष्ठ नागरिकमैत्री कार्यक्रमलाई प्राथमिकता दिइने उल्लेख गरिन् ।

यस्तै वडा अध्यक्ष हृदय विकास चौधरीले जेष्ठ नागरिकको सम्मान गर्नु भनेको आफ्नै संस्कार र पहिचानको सम्मान गर्नु भएको बताउँदै वडा कार्यालयले उनीहरूको हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा वडा सदस्य माेहम्मद सई, कर्मचारी, समाजसेवी राज कुमार यादव, सुनिल चाैधरी, देवेन्द्रमणि त्रिपाठी लगायतकाे उपस्थिति थियोे ।

कमेन्टहरु