दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास, बिश्व, विश्व
यूएईमा तीजको रौनक: प्रकाश सपुतको विशेष प्रस्तुतिसहित ‘सैनामैना तीज धमाका २०२६’ आयोजना हुने


प्रवास दुबई, यूएई। परदेशमा रहेका नेपाली दिदीबहिनी तथा सम्पूर्ण नेपाली समुदायलाई तीजको सांस्कृतिक माहोल प्रदान गर्ने उद्देश्यका साथ सैनामैना सेवा समाज यूएईले आगामी ३० अगस्ट २०२६ मा भव्य ‘सैनामैना तीज धमाका २०२६’ आयोजना गर्ने भएको छ।
समाजले सार्वजनिक गरेको जानकारीअनुसार कार्यक्रममा नेपालका चर्चित लोकगायक तथा सर्जक प्रकाश सपुत को विशेष प्रस्तुति रहनेछ। साथै अन्य चर्चित कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि समावेश गरिने आयोजकले जनाएको छ।
विदेशमा रोजगारी तथा विभिन्न पेशामा संलग्न नेपाली महिलाहरूले तीजका बेला माइतीघर जान नपाउने अवस्था र आफ्नोपनको अभाव महसुस गर्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजका पदाधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार कार्यक्रमले परदेशमा बसोबास गर्ने नेपालीहरूलाई आफ्नै गाउँघर, माइती र नेपाली संस्कृतिको अनुभूति दिलाउने विश्वास लिइएको छ।
सैनामैना सेवा समाज यूएईले आफूलाई “दिदीबहिनीहरूको माइती” का रूपमा स्थापित गर्दै आएको उल्लेख गर्दै तीज पर्वलाई गीत, संगीत, नृत्य, मनोरञ्जन तथा आत्मीय भेटघाटमार्फत अझ विशेष बनाउने तयारी भइरहेको जनाएको छ।
कार्यक्रम दुबईस्थित Club SK7 Hall मा आयोजना हुनेछ। आयोजकले यूएईभर रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई तीज पर्वलाई सामूहिक रूपमा मनाउन आग्रह गरेको छ।
कार्यक्रम विवरण:
📅 मिति: ३० अगस्ट २०२६
स्थान: Club SK7 Hall, Bur Dubai
मुख्य आकर्षण: प्रकाश सपुतसहित अन्य चर्चित कलाकारहरूको विशेष प्रस्तुति
आयोजक: सैनामैना सेवा समाज यूएई
आयोजकका अनुसार “परदेशमा पनि आफ्नै माइतीको आभास” दिलाउने लक्ष्यसहित आयोजना हुन लागेको उक्त कार्यक्रमले यूएईमा नेपाली तीज पर्वको रौनक थप बढाउने अपेक्षा गरिएको छ।
























