चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न


चितवन, जेठ २२। चितवन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न भएको छ । जेठ १ गतेदेखि सुरु गरिएको सर्वेक्षण हालै सम्पन्न भएको हो ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार बाघ गणनाको कार्य सम्पन्न भएपछि आहार प्रजातिको सर्वेक्षण गरिएको हो । यसका लागि नौ वटा समूह गठन गरी २० दिनसम्म दुई वटा हात्ती प्रयोग गरिएको थियो । प्रत्येक हात्तीमा तीन जनाका दरले प्राविधिक जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
हात्तीमा चढेर प्रत्यक्ष अवलोकनका क्रममा देखिएका जनावरको अभिलेखीकरण गरी सर्वेक्षण गरिएको थापामगरले बताउनुभयो । बाघका प्रमुख आहार प्रजातिमा जरायो, चितल, लगुना र रतुवा गरी चार प्रकारका मृग पर्छन् । यसका अतिरिक्त गौरीगाई, बँदेल, नीलगाई तथा बाँदर पनि बाघका आहार प्रजातिका रूपमा रहेका छन् ।
सर्वेक्षण सम्पन्न भएसँगै प्राप्त तथ्याङ्कको विश्लेषण तथा अध्ययनको काम सुरु गरिएको निकुञ्जले जनाएको छ ।
























