समाज

ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु

रासस
२०८३ जेष्ठ २२ | बिहान ११:०२ बजे

पोखरा ।  गण्डकी प्रदेशका ओझेलमा परेका तथा कम प्रचारप्रसार भएका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने उद्देश्यले पोखराका पत्रकारहरूको एक टोली अध्ययन तथा अवलोकन भ्रमणमा निस्किएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आर्थिक सहयोगमा आयोजित तीनदिने भ्रमणमा सहभागी पत्रकारको टोलीले तनहुँ, नवलपुर, स्याङ्जा, पर्वतलगायत जिल्लाका पर्यटकीय स्थलका साथै चितवनको सौरा र पाल्पाका विभिन्न गन्तव्यको अध्ययन तथा अवलोकन गर्ने कार्यक्रम छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार गण्डकी प्रदेशमा पोखरा, अन्नपूर्ण क्षेत्रलगायत विश्वप्रसिद्ध गन्तव्य चर्चामा रहे पनि ग्रामीण तथा नयाँ पर्यटकीय गन्तव्य अझै पर्याप्त रूपमा प्रचारप्रसारमा आउन सकेका छैनन् । ती स्थानमा रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले भ्रमण आयोजना गरिएको उनले बताए ।

भ्रमणका क्रममा पत्रकारहरूले पर्यटकीय सम्भावना, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, स्थानीय जीवनशैली, पर्यटन पूर्वाधार, सेवासुविधा तथा पहुँच मार्गलगायत विषयमा जानकारी लिने छन् । स्थानीयसँगको अन्तरक्रिया र स्थलगत अवलोकनबाट प्राप्त सामग्री विभिन्न सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रसारण हुँदा प्रचार नपाएका गन्तव्यको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको प्रमुख लामिछानेले बताए।

भ्रमणमा सहभागी पत्रकार गोविन्द सुवेदीले कालीगण्डकी नदी आसपासका क्षेत्र, महाशिलाको प्राकृतिक तथा धार्मिक महत्व, अन्धाअन्धी दहसँग सम्बन्धित किंवदन्ती तथा पाल्पा र नवलपुरका ग्रामीण पर्यटनका विविध आयामलाई पत्रकारितामार्फत उजागर गरिने बताए ।भ्रमण दलमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १२ जना पत्रकार सहभागी छन् ।

कमेन्टहरु