केएमसि १० वडा अध्यक्ष कप चेस शुक्रबार शुरु


काठमाडौं, जेठ २१ । काठमाडौं महानगरपालिका वडा नं. १० को आयोजनामा प्रथम केएमसि वडा अध्यक्ष कप राष्ट्रिय खुला फिडे र्यापिड रेटिङ चेस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका छन् ।
तिन दिन अगावै प्रतिस्पर्धी खेलाडीको खेल तालिका प्रकाशन गरि दर्ता बन्द गरिएको प्रतियोगितामा शीर्ष वरीयताका खेलाडी सहित १५८ जना खेलाडीको सहभागिता निश्चित भइसकेको छ ।
प्रतियोगितामा एफएम क्षितिज भण्डारी शीर्ष वरीयतामा रहेका छन्। त्यसैगरी आशीष फुयाँल, सिएम सुश्रुत दाहाल, निकेन कुसाथा, धिरेन राई, बद्रीलाल नेपाली, साजन पाण्डे, एआइएम अभीक शाह लगायतका अन्तर्राष्ट्रिय रेटिङ प्राप्त खेलाडीहरू उपाधिको प्रतिस्पर्धामा छन्।
प्रतियोगिताको कुल नगद पुरस्कार राशी नगद रु. ३ लाख रहेको छ। विजेता खेलाडीले कर कट्टा गरि रु. २६ हजार, उपविजेताले रु. २२ हजार तथा तेस्रो हुने खेलाडीले रु. १८ हजार प्राप्त गर्नेछन्।
यस्तै चौथोदेखि २० औँ स्थान तथा महिला, अनरेटेड, भेट्रान ५५ वर्ष माथि, युवा १०, १२, १४ वर्ष मुनि एवं १८०० मुनि र १६०० मुनि रेटिङ समूहका सबैलाई विशेष पुरस्कार प्रदान गरिने छ।
फिडे लज् अन्तर्गत स्वीस लिग प्रणालीको प्रतिस्पर्धा १० मिनेट १० सेकेन्ड इन्क्रिमेन्ट राखिएको छ। प्रमुख निर्णायक सोराज ताम्राकारले पहिलो दिन पाँच चरणका खेल हुने तथा दोस्रो दिन चार चरणको खेल सञ्चालन हुने जानकारी गराएका छन्।
प्रतियोगिताका निर्देशक इन्द्रकुमार बस्नेतको प्रत्यक्ष रोहवर तथा सहनिर्देशक आशीष फूयाँलको रेखदेख रहने प्रतियोगिताको नतिजाले नेपाली खेलाडीहरूको फिडे र्यापिड अन्तर्राष्ट्रिय रेटिङमा प्रत्यक्ष प्रभाव पार्नेछन् ।
काठमाडौं महानगरपालिकाका आंशिक वडाहरुले बुद्धिचाल खेलको प्रवर्द्धन तथा नयाँ प्रतिभाको विकासमा योगदान पुर्याउने उद्देश्यले चेस खेल आयोजना गरिरहेको सन्दर्भ जोड्दै वडा अध्यक्ष रामकुमार केसिले युवालाई कुलतबाट मुक्त गर्ने अपेक्षा लिएको बताएका छन् ।























