समाज

कुरुवाघर सञ्चालनपछि प्रसूति र कुरुवा लाभान्वित

रासस
२०८३ जेष्ठ २० | मध्यान्ह ०३:०२ बजे

बागलुङ । गलकोट नगरपालिका र जैमिनी नगरपालिकाको नगर अस्पतालमा निर्माण गरिएको कुरुवाघर सञ्चालनमा आएपछि प्रसूति र कुरुवा लाभान्वित भएका छन्।

प्रसूति सेवा लिन आउनेका कुरुवालाई निःशुल्क बस्न सहज होस् भन्ने हेतुले उक्त प्रतिक्षाघर बनाइको थियो । प्रतिक्षाघर निर्माणपछि बिरामीका कुरुवा तथा आफन्तलाई सहज भएको छ । प्रतीक्षा घरमा बसेपछि चिकित्सक र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी भएपछि सुत्केरीहरु सुरक्षित भएका छन् । हेलिकप्टरबाट उद्धार गरेर पठाउने समस्या हटेको छ।

प्रतीक्षा घर बनेपछि सेवाग्राही र उनीहरुका कुरुवालाई सहज वातावरण सिर्जना भएको जैमिनी नगर अस्पतालका प्रमुख डा सुजन शर्माले बताउनुभयो । ती दुवै प्रतिक्षा घर निर्माणका लागि फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले रु चार/चार लाख तथा नगरपालिकाले रु छ लाखका दरले रकम उपलब्ध गराएको थियो।

गलकोटको प्रतिक्षा घरमा एकैपटक तीन परिवार वा तीन जनाका कुरुवा बस्न सक्छन् भने जैमिनीमा दुई परिवार बस्न मिल्नेछ।त्यहाँको ग्रामीण क्षेत्रबाट प्रसूति व्यथा हुनु एक दिनअघि नै गर्भवती स्वास्थ्य संस्थामा पुग्नुपर्ने भएकाले त्यस समयमा आर्थिक समस्या भोग्न नपरोस् भनी नगर अस्पताल र स्वास्थ्य चौकीमा यस्ता कुरुवा निर्माण गरिएको संस्थाका अनुगमन अधिकृत सुजन पौडेलले बताए।

गत असोजदेखि शल्यक्रिया सेवा सुरु गरिएको गलकोट नगर अस्पतालमा अहिलेसम्म १५० महिलाले प्रसूति सेवा लिएका छन् । त्यस अवधिमा ३७ जनाको शल्यक्रिया भएको छ । ती सबैले सुत्केरी हुनुपूर्व र सुत्केरीपछि कुरुवाघरको सेवा लिएका छन्।

अस्पताल प्रशासनका अनुसार यहाँ ७७ जना सुत्केरीका आफन्तले कम्तीमा एक रात बसेर घर फर्केका छन् । कतिपयले यहाँ सात दिनसम्म पनि सेवा लिइएको पाइएको छ।अघिल्लो आर्थिक वर्ष ८० जना सुत्केरी गराएको गलकोट नगर अस्पतालमा यस आवमा १५० बढीले सेवा लिइसकेको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए। धौलागिरि अस्पताल पछिको धेरै सेवा दिने र धेरै सेवाग्राही आउने अस्पतालमा यो सूचीकृत छ।

परियोजनाले जैमिनी नगरपालिकाको कुश्मीसेरा अस्पतालमा पनि प्रतीक्षाघर बनाएको छ । यहाँ अघिल्लो वर्ष २८ जनाले प्रसूति सेवा लिएका थिए।यसअघि निसीखोला, बडिगाड, काठेखोला, बरेङ र ताराखोलामा साझेदारीमा प्रसूति प्रतीक्षा घर बनिसकेका छन्। निसीखोलाको बोहोरागाउँ स्वास्थ्यचौकीमा वर्षमा १२० जनासम्म गर्भवती र कुरुवाले उक्त घर उपयोग गरेका छन्।

जैमिनीमा बनेको प्रतीक्षा घरको केही दिनअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । जैमिनीलाई बालमैत्री बनाउने अभियानमा आएका मुख्यमन्त्रीले नगर अस्पतालको अनुगमन पनि गरे।उहाँले प्रतिक्षाघरले महिलाको स्वास्थ्यमा राम्रो प्रभाव पर्ने भन्दै बालबालिकाको सुरक्षित जन्मन पाउने अधिकार पनि सुरक्षा भएको बताए।

नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका अध्यक्ष यमप्रसाद कँडेलले आमा र शिशुको स्वास्थ्यमा सम्बोधन परियोजनाको लगानीलाई सबै स्थानीय तह र सरकारी निकायले ग्रहण गर्नसकेमा स्वास्थ्य क्षेत्रमा सुधार र परिवर्तन सम्भव हुने बताए।

कमेन्टहरु