शिक्षा पूर्वाधार विस्तारमा रामाअश्रय साह : सेखौनामा ४ कोठे विद्यालय भवन निर्माण सुरु


सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका वडा नं. १ सेखौनास्थित श्री आधारभूत विद्यालय सेखौनामा करिब ६० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको शिक्षा क्षेत्रलाई थप सुदृढ र व्यवस्थित बनाउने लक्ष्यका साथ निर्माण हुन लागेको उक्त भवनको शिलान्यास गाउँपालिका अध्यक्ष रामाअश्रय साहले गरेका हुन्।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष साहले गुणस्तरीय शिक्षाको आधार बलियो भौतिक पूर्वाधार भएको उल्लेख गर्दै गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सुरक्षित, व्यवस्थित तथा आधुनिक शैक्षिक वातावरण उपलब्ध गराउन स्थानीय तह प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा समेत शिक्षा क्षेत्रको विकासका लागि आवश्यक लगानी र पूर्वाधार निर्माणलाई निरन्तरता दिइने स्पष्ट पारे।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष गौरी महतो, जनप्रतिनिधिहरू, गाउँपालिकाका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार आउने र विद्यार्थीहरूले सहज वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए। निर्माणाधीन ४ कोठे भवनले विद्यालयमा बढ्दो विद्यार्थी सङ्ख्यालाई व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
साथै, स्थानीय तहबाट शिक्षा क्षेत्रमा भइरहेको लगानीले ग्रामीण क्षेत्रका विद्यालयहरूको समग्र शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। उक्त जानकारी नेपाली कांग्रेस मधेश प्रदेश सूचना तथा सञ्चार विभागका सचिव निकेश त्रिपाठीले दिएका हुन्।























