दुबई यूएई, प्रदेश, प्रबास, बिश्व

“यूएईमा नेपाली श्रमिकको हितका लागि राजदूतावासको निरन्तर पहल”

कबिराज राजबंशी
२०८३ जेष्ठ २० | बिहान ०१:०२ बजे
रुवाइसस्थित श्रमिक शिविरमा पुगेको नेपाली राजदूतावास, श्रमिकलाई श्रम अधिकारदेखि प्राथमिक उपचारसम्मको जानकारी

प्रवास दुवई, यूएई | संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपाली श्रमिकहरूको हकहित, सुरक्षा र कल्याणलाई केन्द्रमा राख्दै नेपाली राजदूतावास, अबुधाबीले रुवाइसस्थित एक श्रमिक शिविरमा श्रम सचेतना तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

मे ३१ मा सम्पन्न कार्यक्रम अबुधाबीबाट करिब ३०० किलोमिटर टाढा रहेको सिनोपेक इन्जिनियरिङ कम्पनीको श्रमिक शिविरमा आयोजित गरिएको थियो। कार्यक्रममा १०० भन्दा बढी नेपाली श्रमिकहरूको सहभागिता रहेको थियो।

राजदूतावासका श्रम सहचारी पंकज लाभ कर्ण, तृतीय सचिव विमलेश कुमार मिश्र, जनसम्पर्क अधिकृत राजी अहमद तथा नेपाली समुदायका प्रतिनिधि जगन अधिकारीले श्रमिकहरूसँग प्रत्यक्ष संवाद गरेका थिए।

कार्यक्रममा यूएईको श्रम कानुन, श्रमिकका अधिकार र कर्तव्य, गुनासो समाधान प्रक्रिया, सुरक्षित वैदेशिक रोजगारी तथा नेपालको वैदेशिक रोजगारसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी प्रदान गरिएको थियो। साथै सामाजिक सुरक्षा कोष (SSF) को महत्व र त्यसबाट प्राप्त हुने सुविधाबारे समेत श्रमिकहरूलाई अवगत गराइएको थियो।

राजदूतावासले सेवा प्रवाहलाई थप सहज बनाउने उद्देश्यले MOFA Mitra App, Nagarik App तथा MOHRE App को प्रयोगबारे जानकारी दिँदै सहभागीहरूको मोबाइलमा एप स्थापना गर्नसमेत सहजीकरण गरेको थियो।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष प्राथमिक उपचारसम्बन्धी प्रशिक्षण रह्यो। प्रशिक्षक जगन अधिकारीले कार्यस्थल वा बसोबासका क्रममा हुन सक्ने आकस्मिक स्वास्थ्य समस्याको अवस्थामा कसरी प्राथमिक उपचार गर्ने भन्ने विषयमा व्यवहारिक जानकारी दिनुभएको थियो।

अन्तरक्रिया सत्रमा श्रमिकहरूले आफूले भोगिरहेका समस्या, जिज्ञासा तथा सुझावहरू खुलेर राखेका थिए। राजदूतावासका प्रतिनिधिहरूले ती प्रश्नहरूको जवाफ दिँदै आवश्यक परामर्श र मार्गदर्शन प्रदान गरेका थिए।

कार्यक्रममा सहभागी श्रमिकहरूले आफ्नो कार्यस्थलमै पुगेर उपयोगी जानकारीमूलक कार्यक्रम सञ्चालन गरेकोमा राजदूतावासप्रति धन्यवाद व्यक्त गरेका थिए। यसैबीच, सिनोपेक इन्जिनियरिङ कम्पनीका व्यवस्थापक वाङ काइयाङले नेपाली श्रमिकहरू मेहनती, इमानदार र जिम्मेवार रहेको उल्लेख गर्दै उनीहरूको प्रशंसा गरेका थिए। उनले नेपाली राजदूतावासलाई प्रशंसापत्रसमेत प्रदान गरेका थिए।

नेपाली राजदूतावासले यूएईभरि कार्यरत नेपाली श्रमिकहरूको हित, सुरक्षा र अधिकार संरक्षणका लागि यस्ता श्रम शिविर केन्द्रित कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

कमेन्टहरु