अपराध

सुनसरीको जमुवा सीमा क्षेत्रबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

देवराजा यादव
२०८३ जेष्ठ १८ | मध्यान्ह ०९:०२ बजे

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ जमुवा सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपालले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) श्रीपुरबाट सप्रह मनबहादुर न्यौपानेको कमाण्डमा खटिएको चेकपोइन्ट टोलीले शुक्रबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०६० प २७८४ नम्बरको स्कुटरलाई रोक्न लगाई जाँच गरेको थियो।

जाँचका क्रममा स्कुटर चालक उदयपुरको बेलका नगरपालिका–७ रामपुर निवासी ४४ वर्षीय मणि राई र पछाडि सवार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरा निवासी ४४ वर्षीय उदब थापाको साथबाट ७ दशमलव १७ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै व्यक्ति र स्कुटरलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ।

उनीहरूको साथबाट एक थान भिभो मोबाइल, एक थान रेड्मी मोबाइल, दुई थान नोकिया मोबाइल, १०५ अमेरिकी डलर तथा नगद नेपाली रुपैयाँ १ हजार १५ रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ

कमेन्टहरु