भारतको कुशीनगरबाट ४५३ जना उद्धार


भैरहवा । रोजगारी, आकर्षक आम्दानी र विभिन्न प्रलोभन देखाएर भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रमा लगेर बन्धक बनाइएका ४५३ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश ल्याइएको छ। भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले सञ्चालन गरेको विशेष समन्वयात्मक अभियानमार्फत उनीहरूलाई शुक्रबार राति उद्धार गरी नेपाल ल्याइएको हो ।
उद्धार गरिएका सबै नेपालीलाई रुपन्देही हुँदै नेपाल भित्र्याइएको छ। हाल उनीहरूलाई सुरक्षित रूपमा राखेर आवश्यक विवरण संकलन गर्ने, स्वास्थ्य अवस्था बुझ्ने तथा आफन्तको पहिचान गर्ने काम भइरहेको नेपाल प्रहरीले जनाएको छ। प्रारम्भिक प्रक्रिया पूरा भएपछि उनीहरूलाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको छ । नेपाल प्रहरीका अनुसार उद्धार गरिएका अधिकांश व्यक्ति विभिन्न जिल्लाका हुन् । उनीहरूलाई राम्रो रोजगारी, आकर्षक तलब, विदेश पठाइदिने आश्वासन वा अन्य आर्थिक अवसरको प्रलोभनमा पारेर भारत लगिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
भारत पुगेपछि भने उनीहरूलाई स्वतन्त्र रूपमा हिँडडुल गर्न नदिने, निगरानीमा राख्ने तथा मानसिक दबाबमा राख्ने गरिएको पाइएको छ । प्रहरीका अनुसार केही व्यक्तिहरूले आफूहरूलाई जबर्जस्ती नियन्त्रणमा राखिएको तथा घर फर्किन नदिइएको जानकारी नेपालस्थित आफन्त र विभिन्न निकायलाई गराएका थिए । त्यसपछि नेपाल प्रहरी, भारतीय सुरक्षा निकाय तथा दुवै देशका प्रशासनिक संयन्त्रबीच समन्वय सुरु भएको थियो । प्राप्त सूचनाका आधारमा भारतीय प्रहरीको टोलीले कुशीनगर क्षेत्रमा निगरानी बढाएको थियो। त्यसक्रममा ठूलो संख्यामा नेपाली नागरिक एकै स्थानमा राखिएको पुष्टि भएपछि संयुक्त समन्वयमा उद्धार अभियान सञ्चालन गरिएको हो । उद्धार अभियानमा भारतीय प्रहरीको सक्रिय सहयोग रहेको नेपाल प्रहरीले जनाएको छ।
भारतीय पक्षले नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्दै उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो । प्रारम्भिक विवरणअनुसार उद्धार गरिएका धेरैजसो व्यक्तिहरूलाई राम्रो रोजगारी, मासिक आकर्षक आम्दानी तथा विभिन्न प्रकारका कामको आश्वासन दिइएको थियो । कतिपयलाई विदेश पठाइदिने, कतिपयलाई व्यापारिक अवसर उपलब्ध गराइदिने र केहीलाई धार्मिक तथा सामाजिक कार्यक्रममा सहभागी गराइने भन्दै भारत लगिएको बताइएको छ । तर त्यहाँ पुगेपछि उनीहरूले भने अपेक्षा गरेअनुसारको अवस्था नभेटेको र स्वतन्त्र रूपमा फर्किनसमेत नपाएको जानकारी दिएका छन्।
प्रहरीले उनीहरूलाई भारतसम्म पु¥याउने व्यक्ति तथा समूहबारे पनि जानकारी संकलन गरिरहेको छ । नेपाल ल्याइएपछि सबै व्यक्तिको नाम, ठेगाना, उमेर तथा पारिवारिक विवरण संकलन गर्ने काम भइरहेको छ। प्रहरीका अनुसार उद्धार गरिएका व्यक्तिहरूमध्ये महिला, पुरुष तथा विभिन्न उमेर समूहका नागरिक रहेका छन् । उनीहरूलाई नेपाल ल्याएलगत्तै खानपान, आवास र आवश्यक स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ। केही व्यक्तिहरू शारीरिक रूपमा कमजोर देखिए पनि हालसम्म गम्भीर स्वास्थ्य समस्या देखिएको छैन ।
प्रहरीले प्रत्येक व्यक्तिको अवस्था बुझेर आवश्यक परामर्शसमेत उपलब्ध गराइरहेको जनाएको छ। घटनाको प्रकृति हेर्दा उनीहरू मानसिक तनावमा परेको हुन सक्ने भएकाले मनोसामाजिक परामर्शको व्यवस्थासमेत मिलाइएको स्रोतले जनाएको छ । प्रहरीले उद्धार गरिएका व्यक्तिहरूका आफन्तसँग सम्पर्क स्थापना गर्ने कामलाई तीव्रता दिएको छ । आफन्तको पहिचान र आवश्यक कागजी प्रक्रिया पूरा भएपछि उनीहरूलाई परिवारको जिम्मा लगाइने तयारी भइरहेको छ ।
नेपाल प्रहरीका एक अधिकारीका अनुसार सबै व्यक्तिलाई एकैपटक नभई प्रक्रिया पूरा गर्दै क्रमशः आफन्तको जिम्मा लगाइनेछ ।आफन्त नआएका वा तत्काल सम्पर्कमा नआएकाहरूका लागि भने थप व्यवस्थापन गरिने बताइएको छ । घटनाको प्रकृति हेर्दा यसमा मानव बेचबिखन, जबर्जस्ती श्रम शोषण, वैदेशिक रोजगारीको नाममा ठगी वा संगठित अपराधका तत्व हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको छ । प्रहरीले उद्धार गरिएका व्यक्तिहरूसँग बयान लिने काम सुरु गरेको छ । उनीहरू भारत कसरी पुगे, कसले सम्पर्क ग¥यो, कसले खर्च व्यवस्थापन ग¥यो र त्यहाँ पुगेपछि के–कस्ता गतिविधिमा संलग्न गराइयो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।
अनुसन्धानबाट संलग्न व्यक्ति वा समूहको पहिचान भएपछि कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ। आवश्यक परे भारतीय सुरक्षा निकायसँग थप सूचना आदानप्रदान पनि गरिने बताइएको छ । यस घटनाले रोजगारी, आकर्षक आम्दानी र विभिन्न अवसरको नाममा हुने मानव तस्करी तथा ठगीका नयाँ स्वरूपबारे फेरि प्रश्न उठाएको छ । सुरक्षा निकायहरूले नागरिकलाई अपरिचित व्यक्ति वा संस्थाको प्रलोभनमा नपर्न, विदेश वा अन्यत्र कामका लागि जाँदा आधिकारिक प्रक्रिया अपनाउन तथा शंकास्पद गतिविधिबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन् । कुशीनगरबाट उद्धार गरिएका ४५३ नेपालीको सुरक्षित स्वदेश फिर्तीलाई ठूलो मानवीय सफलता मानिएको छ ।
अब उनीहरूलाई परिवारसँग पुनर्मिलन गराउनुका साथै घटनामा संलग्न व्यक्ति तथा नेटवर्कको पहिचान गरी कानुनी दायरामा ल्याउने चुनौती सुरक्षा निकायसामु रहेको छ ।






















