जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छः सञ्चारमन्त्री डा तिमिल्सिना


नुवाकोट, जेठ १६। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नु सरकार र जनप्रतिनिधिहरूको प्रमुख दायित्व रहेको बताउँदै वर्तमान सरकार त्यसतर्फ दृढतापूर्वक अघि बढिरहेको बताउनुभएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम पालिका अधिवेशनका अवसरमा तादी गाउँपालिका–५ मा आयोजित कार्यक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि प्रस्तुत गरिएको बजेट युवापुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी निर्माण गरिएको दाबी गर्नुभयो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले नीतिगत सुधारमार्फत विकास प्रक्रियालाई प्रभावकारी, सन्तुलित र समावेशी बनाउने प्रयास भइरहेको बताउँदै समानुपातिक विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो । “विगतका वर्षहरूमा जस्तो छरिएको र उद्देश्यविहीन बजेट होइन, यसपटक राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राखेर विकासको स्पष्ट प्रस्थानविन्दु तय गरिएको छ”, सञ्चारमन्त्री तिमिल्सिनाले भन्नुभयो ।
नयाँ सोच र दृष्टिकोणअनुसार बजेट निर्माण गरिएको उल्लेख गर्दै उहाँले विकास र बजेटको लाभ सीमित शक्तिशाली समूहमा केन्द्रित हुने अवस्थाको अन्त्य गर्न सरकार प्रयासरत रहेको बताउनुभयो । त्यस्तै, बजेट वक्तव्यले सबै विषय समेट्न नसक्ने भएकाले विस्तृत योजना तथा कार्यक्रम रातो किताबमार्फत सार्वजनिक गरिने जानकारी पनि उहाँले दिनुभयो । जिल्लाका विभिन्न समस्या समाधानका लागि आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले स्थानीयवासीलाई आफ्ना गुनासा र समस्या जुनसुकै माध्यमबाट भए पनि जानकारी गराउन आग्रह गर्नुभयो । प्राप्त समस्याको समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन पनि उहाँले दिनुभयो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले वर्तमान बजेट सत्तारुढ दलहरूले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने उद्देश्यसहित ल्याइएको दाबी गर्दै विकासमा सबै नागरिकको समान अधिकार सुनिश्चित गर्न सरकार केन्द्रित रहेको बताउनुभयो । यो बजेटमार्फत सरकारले आगामी २० वर्षलाई लक्षित गरी योजनाबद्ध विकासको आधार तयार गरिएको उहाँको भनाइ थियो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले भ्रष्टाचार र बिचौलियातन्त्र अन्त्य गर्ने प्रतिबद्धतासहित सरकार अघि बढिरहेको स्पष्ट पार्दै यस्ता विकृतिविरुद्ध कडा कदम चालिने बताउनुभयो । “राजनीति जनताका लागि गरिन्छ । गलत काम गर्नेहरू अब स्वाभाविक रूपमा अप्ठ्यारोमा पर्छन्”, उहाँले भन्नुभयो ।
सरकारका नीति, कार्यक्रम र योजनाको केन्द्रमा नागरिक रहेको उल्लेख गर्दै उहाँले विगतमा शासन व्यवस्था सीमित स्वार्थ समूहको प्रभावमा पर्दा युवाहरूमा असन्तुष्टि र विद्रोहको भावना बढेको धारणा राख्नुभयो । नागरिकलाई केन्द्रमा राख्ने शासन प्रणाली प्रभावकारी रूपमा स्थापित हुन नसक्दा जनतामा निराशा बढेको र त्यसले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गराएको उहाँको भनाइ थियो ।






















