बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा चिकित्सकहरुको सम्मेलन सुरु


चितवन, जेठ १६। नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स ‘एनएमए कन २०२६’ सुरु भएको छ । आइतबारसम्म सञ्चालन हुने सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सुरु भएको हो ।सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा नेपालसहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरु, नर्स र स्वास्थ्यकर्मीहरु सहभागी हुनुभएको छ । यसैगरी, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरु कार्यक्रममा सहभागी हुनुभएको छ । साथै स्वास्थ्य मन्त्रालय र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहभागी हुनुहुन्छ ।
यसैगरी, कार्यपत्र प्रस्तुतीकरण र रोगका बारेमा अनुसन्धात्मक कार्यप्रगति प्रस्तुतीकरण भइरहेका छन् । कार्यपत्र ४० र कार्यप्रगति ३० वटा रहेका छन् । आज बिहानदेखि प्राविधिक सत्र सुरु भएको सम्मेलनको आइतबार बिहान औपचारिक उद्घाटन कार्यक्रम हुनेछ ।
कार्यक्रममा देशभरबाट ३५० जना सहभागी छन् । सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको उहाँको भनाइ छ ।
हरेक दुई/दुई वर्षमा हुँदै आएको यो कार्यक्रम बाह्र वर्ष यता तीनरतीन वर्षमा गर्न थालिएको छ । यस वर्षको सम्मेलनको मूल नारा ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ भन्ने रहेको छ । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागतसम्बन्धी चुनौतीलाई समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर छलफल थालिएको छ ।
सम्मेलनमा संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई कसरी सुदृढ बनाउने र स्वास्थ्य क्षेत्रमा विश्वका नयाँ प्रविधि र आविष्कारहरूलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित रहेर वैज्ञानिक सत्रहरु सुरु भएका छन् ।कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटालगायत सरकारी निकायका अधिकारीहरु पनि सहभागी हुनुहुन्छ ।






















