लुम्बिनी प्रदेश

१९ औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशमा दीप प्रज्वलन

नवलपुर टुडे
२०८३ जेष्ठ १४ | मध्यान्ह ०८:०२ बजे

दाङ । लुम्बिनी प्रदेश सरकारले १९ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको छ। दिवसको पूर्वसन्ध्यामा बिहीवार बेलुका राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश राजधानी परिसरमा दीप प्रज्वलन गरिएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले दीप प्रज्वलन गर्दै गणतन्त्र ठूलो त्याग, संघर्ष र बलिदानीबाट प्राप्त ऐतिहासिक उपलब्धि भएकाले यसको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए।

उनले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्दै जनताको अपेक्षा अनुसार सुशासन, विकास र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। गणतन्त्र दिवसको अवसरमा प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा मातहतका कार्यालय एवं निकायमा समेत दीप प्रज्वलन गरिएको छ। यसअघि बिहान प्रदेश राजधानी क्षेत्रको प्रशासनिक परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रदेश सरकारले गणतन्त्र दिवसलाई व्यवस्थित र भव्य रूपमा मनाउन विभिन्न कार्यक्रम तय गरेको जनाएको छ। मूल समारोह जेठ १५ गते बिहान आयोजना गरिने कार्यक्रम छ।

ac0cb244 108e 410d 82ba 8e7763c200d6

 

कमेन्टहरु