दुर्घटना

नवलपुरमा मोटरसाइकल एकअपासमा ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

नवलपुर टुडे
२०८३ जेष्ठ १४ | बिहान ११:०२ बजे

कावासोती । नवलपुरको देवचुलीमा मोटरसाइकल एकअपासमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्व–पश्चिम राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु र तीन जना घाईते भएका हुन ।

बुधबार साँझ नारायणगढबाट कावासोतीतर्फ आउँदै गरेको बा.प्र.०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु.प्र.०१–०११ प ९९९१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा बा.प्र.०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ निवासी २६ वर्षीय दिनेश गिरी गम्भीर घाइते भएका थिए।

टाउकोमा चोट लागेका उनलाई तत्काल उपचारका लागि देवचुली नगर अस्पताल दुम्कौली लगिएकोमा चिकित्सकलेमृत घोषणा गरेका हुन्। दुर्घटनामा लु.प्र.०१–०११ प ९९९१ नम्बरको मोटरसाइकल चालक रुपन्देही सिद्धार्थनगर नगरपालिका–१२ निवासी ३४ वर्षीय रोहन पन्थी घाइते भएका छन्। उनको बाँया हात र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

यस्तै मोटरसाइकलमा पछाडि सवार रुपन्देही तिलोत्तमा नगरपालिका–१६ निवासी २५ वर्षीय अमृत आचार्यको दाहिने हात तथा खुट्टामा चोट लागेको छ भने अर्को मोटरसाइकलमा पछाडि सवार रामेछाप मन्थली नगरपालिका–७ निवासी २६ वर्षीय डम्बरबहादुर माझीको बाँया हातमा चोट लागेको छ। प्रहरीका अनुसार घाइतेहरुको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

कमेन्टहरु