खेलकुद

राष्ट्रिय बी चेस च्याम्पियनसिप रिसोन र बिनिताको अग्रता

राजु ताम्राकार
२०८३ जेष्ठ १३ | मध्यान्ह १०:०२ बजे

मेचिनगर । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बी चेस च्याम्पियनसिप दोस्रो दिन चौथो चरणको खेल सक्दा पुरुष वर्गमा रिसोन थापाले अग्रता कायम गरेका छन्। काँकडभिट्टा स्थिथ नाइट चेस क्लबको स्थानीय व्यवस्थापन रहेको महिला वर्गमा बिनिता कपालीले एकल अग्रता बनाएकी छिन्।  

प्रतिस्पर्धाको दुवै विधाका अन्तिम परिणाम आएसँगै शीर्ष नवौं स्थानमा रहने खेलाडीहरु २६ औं राष्ट्रिय पुरुष च्याम्पियनसिप र ११ औं राष्ट्रिय महिला च्याम्पियनसिपका लागि छनोट हुनेछन् ।
रिसोन थापाले चार चरणको स्पर्धामा पूर्ण ४ अंक संकलन गरी शीर्ष स्थान कब्जा गरेका छन्। दोस्रो स्थानमा रहेका पाँच खेलाडी कमल श्रेष्ठ, सिएम सुश्रुत दाहाल, सुरोज महर्जन, आशिष फूँयाल र मुहन नर्सिङ श्रेष्ठले बराबर ३.५ अंक जोड्न सफल भएका छन्। 

यस्तै सिएम पुरुषोत्तम चौलागाईं, सत्यम शर्मा, धिरेन राई, राजनकुमार पोख्रेल, बलिराम गुरुङ, बिक्रमजीत लिम्बु एआईएम अभिक शाह, प्रतीक शर्मा र क्रिश अधिकारी समान ३ अंक बनाउदै संयुक्त तेस्रो स्थानमा छन्।

यसैगरी महिला वर्गमा बिनिता कपालीले तिन चरणको खेल समाप्तिमा पूर्ण ३ अंक जोडी पहिलो स्थान ओगटेकी छिन्। क्रमशः पूजा भण्डारी र कृतिसरा अधिकारी २.५ अंकका साथ संयुक्त दोस्रो स्थानमा छन् भने शान्ति धिमाल, शुशीला गुरुङ र राधिका पौडेल २ अंक लिएर तेस्रो स्थानमा रहेका छन्।

काँकडभिट्टाको खानेपानी तथा सरसफाई हलमा चलिरहेको खेल स्वीस लिग प्रणाली अन्तर्गत ९० मिनेट थप ३० सेकेन्ड समय नियन्त्रणमा खेलिँदैछ।
नाइट चेस क्लबका अध्यक्षको उपस्थितिमा सम्पन्न भइरहेको राष्ट्रिय ‘बी’ च्याम्पियनसिपबाट छनौट हुने १८ खेलाडीले जनही रु. ५,००० भत्ता पाउने व्यवस्था छ।

कमेन्टहरु