कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत रहने अनुमान


काठमाडौँ, जेठ १३। चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत अनुमान रहेको छ । गत वर्ष यस क्षेत्रको यस्तो योगदान आठ दशमलव ८६ प्रतिशत रहेको थियो ।अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सदनमा पेस गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणमा पछिल्लो दशकमा कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान वार्षिक औसत आठ दशमलव प्रतिशत र वृद्धिदर चार दशमलव १६ प्रतिशत रहेको छ ।
सर्वेक्षणअनुसार विद्यालय तहमा कुल भर्नादर बढेको छ । शैक्षिकसत्र २०८२ मा आधारभूत तह (कक्षा १–८) को कुल भर्नादर १३६ दशमलव २ प्रतिशत र माध्यमिक तह (कक्षा ९–१२) को कुल भर्नादर ८५ दशमलव ७ प्रतिशत पुगेको छ । गत शैक्षिक सत्रमा यस्तो भर्नादर क्रमशः १२४ दशमलव ८ प्रतिशत र ८० दशमलव ६ प्रतिशत रहेको थियो ।
शैक्षिकसत्र २०८२ मा १०४ विद्यालय थप भई विद्यालय सङ्ख्या ३५ हजार ९५१ पुगेको छ । यसमध्ये सामुदायिक विद्यालयको हिस्सा ७१ दशमलव २७, संस्थागत विद्यालयको २४ दशमलव ८७ र परम्परागतरधार्मिक विद्यालय ३ दशमलव ८६ प्रतिशत रहेका छन् । तथ्याङ्कअनुसार सामुदायिक विद्यालयमध्ये १०० भन्दा कम विद्यार्थी भएका विद्यालय ५० दशमलव ८५ प्रतिशत रहेका छन् । दुई हजारभन्दा कम विद्यार्थी भएका विद्यालय शून्य दशमलव ४७ प्रतिशत रहेका छन् ।
सहरी क्षेत्रमा बढ्दै गएको बसाइँसराइ र जन्मदरमा आएको कमीले ग्रामीण क्षेत्रमा विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको छ । विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयलाई नक्साङ्कन गरी समायोजन गर्दै लगिएको छ ।























