कांग्रेसभित्र जारी समानन्तर गतिविधि कुनै अनौठो होइनः महेश नेपाली


काठमाडौं , जेठ १२। नेपाली कांग्रेसका नेता एवम सामाजिक अभियन्ता महेश नेपालीले पार्टी बैचारिक रुपमा फुट्न नसक्ने बताएका छन् । अध्याँरो कोठामा बसेर निर्णय गर्ने परिपाटीका कारण कांग्रेस हालको अवस्थामा आइपुगेको पनि उनले बताए ।नेपाल न्यूज बैंकसँगको संवादमा नेपालीले विगतका नेतृत्वहरुले गरेका कमजोरीका कारण विशेष महाधिवेशको अवस्था आइपुगेको र विशेष महाधिवेशनलाई नजरअन्दाज गर्दा परिस्थिति पेचिलो बनेको उनको भनाइ छ ।
‘पार्टी विधानमा नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन गर्न सकिन्थ्यो भन्ने कुरा थियो । नेतृत्वले नियमित महाधिवेशन तोकिसकेपछि विशेषको अवस्था सिद्धियो भनेर जुन किसिमले आंकलन गर्नु नै गलत थियो,’ उनले भने ।
जेनजी विद्रोह कांग्रेसविरुद्ध पनि रहेकाले फागुन २१ को निर्वाचनले पार्टीलाई खुम्चाइदिएको उनले बताए । हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेकाले हरेक आन्दोलन कम्प्रोमाइजका माध्यमबाट परिवर्तनको आवाजलाई सेफल्यान्डिङ गरिएको उनको भनाइ छ ।
नेपाली कांग्रेस कहिल्यै नजुटेको र नफुटेको इतिहास रहेको उल्लेख गर्दै नेता नेपालीले देउवा–कोइराला पनि एक ठाउँमा आउनुपरेको दृष्टान्त पहिल्याए ।
‘देशमा संकट वा व्यवस्था जोगाउने सवालमा कांग्रेस एक ठाउँमा भएको इतिहास छ । आजका दिनमा पनि प्रजातन्त्रमा केही न केही आघात पुर्याउन थालियो भने कांग्रेस फेरि एकत्रित भएर नै अगाडि बढ्छ,’ उनले भने ।कांग्रेसभित्र विगतमा पनि समानन्तर गतिविधि हुने गरेको उल्लेख गर्दै उनले हाल भइरहेका गतिविधिलाई अनौठो रुपमा लिन नपर्ने उनको भनाइ छ ।
‘हामीले इतिहासलाई बुझेर, वर्तमानका कुराहरुलाई अगाडि बढाउँदै भविष्य निर्माण गर्ने कुरामा अग्रसर हुनुपर्छ, युवाहरुको त्यही नै चाहना हो। एकत्रित भएर नै अगाडि बढ्छ, फुट कहिँ पनि दिगो पनि रहँदैन र कांग्रेसमा पनि दिगो रहँदैन । इतिहासले त्यही देखाउँछ,’ उनले भने ।पदका लागि पार्टी धेरपटक चोइटिएको उल्लेख गर्दै उनले चोइटिएर जानेहरु विलाएर हराउने उनको दाबी छ । न्यूज बैंक






















