घटना, प्रहरी/सुरक्षा, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
लाम्पाटा घटना क्षेत्रमा सुरक्षाकर्मी परिचालन


बाजुरा, जेठ १० । बाजुराको हिमाली गाउँपालिका–३ को लाम्पाटामा प्रहरी चाैकी स्थापनाकाे विषयलाई लिएर कुटपिटको घटना भएपछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थलीका स्थानीयको समूहले हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङसहितका पाँच जनामाथि कुटपिट गरेको थियो । ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान लिएर पुगेको धनगढीका मेयर गोपाल हमाल नेतृत्वको टोली र हिमाली गाउँपालिकाका अध्यक्ष गाेबिन्द बहादुर मल्ल सहितकाे टाेलीलाइ अवरोधका कारण साइपाल बेसक्याम्पकाे पुर्वी भाग बाजुराकाे रानीसैन नपुग्दै फर्किएको थियो ।
प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षामा सुधार आउने र वर्षौंदेखि हुँदै आएको बहुमूल्य हिमाली जडिबुटीको अवैध ओसारपसारमा रोक लाग्ने अवस्था सिर्जना हुने भएपछी हुम्लाका तस्कारहरुले “चौकी नबनोस् र विगतझैँ बहुमूल्य जडिबुटीको अवैध ओसारपसार निर्वाध रूपमा चलिरहोस् भन्ने समूहको उक्साहटमा यो विवाद भएकाे बाजुराका हिमाली गाउँपालिका अध्यक्ष गाेबिन्द बहादुर मल्लकाे भनाइ रहेकाे छ ” उनका अनुसार रानीसैन क्षेत्रबाट बहुमूल्य जडिबुटी र वन्यजन्तुको अखेटोपहार तस्करी हुने गरेको छ। प्रहरी चौकी स्थापना भएपछि त्यस्ता गतिविधिमा रोक लाग्ने भएकाले विवाद सिर्जना गरिएको धेरैको ठहर छ।
घटना भएको हप्ता दिनपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको नेतृत्वमा १० जनाको प्रहरी लाम्पाटातर्फ पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले लाम्पाटाको वस्तुगत स्थितीबारे बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली त्यसतर्फ गएको बताए ।
सुचना अधिकारी शाहीका अनुसार शनिबार प्रस्थान गरेको टोली आइतबार मात्र लाम्पाटा पुग्नेछ । सशस्त्र प्रहरीको नेतृत्व प्रहरी सहायक निरीक्षक (असई)ले गरेका छन् । लाम्पाटामा प्रहरी चौकी निर्माण क्रममा भएकाे विवादको विषयलाई लिएर खार्पुनाथका स्थानीयको कुटपिटमा परेर घाइते भएका वडा सदस्यसहितको काठमाडौंमा उपचार भइरहेको छ ।






















