सिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु


हेटौँडा । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
भिरबाट लडेर दुई बालक घाइते
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ भोर्लेस्थित जङ्गलको भिरबाट लडेर दुई बालक घाइते भएका छन् ।जङ्गलको बाटो हुँदै आज बिहान ११ बजेतिर भोर्लेबाट रमनटारतर्फ जाँदै गरेको साइकल आफैँ अनियन्त्रित भई भिरबाट करिब ३५ मिटर तल खसेर स्थानीय १२ वर्षीय साजन पाख्रिन र १२ वर्षीय रोणित थापा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता बोगटीले जानकारी दिए ।
घाइते दुवै बालकलाई उद्धार गरी उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।






















