बालमैत्री असल संस्कार कक्षाको दोस्रो वार्षिक स्थापना दिवस धार्मिक एवं आध्यात्मिक वातावरणमा भव्य रूपमा मनाइने
कबिराज राजबंशी
२०८३ जेष्ठ ९ | बिहान १०:०२ बजे
बालमैत्री असल संस्कार कक्षाको दोस्रो वार्षिक स्थापना दिवस धार्मिक एवं आध्यात्मिक वातावरणमा भव्य रूपमा मनाइने
प्रवास दुवई, यूएई |
गैंडाकोट नगरपालिका वडा नं. १ स्थित श्रीवैष्णव युवा परिषद् नेपालको कार्यालयमा सञ्चालन हुँदै आएको “बालमैत्री असल संस्कार कक्षा” ले आफ्नो दोस्रो वार्षिक स्थापना दिवस यही आउने १० गते आइतवारका दिन धार्मिक तथा आध्यात्मिक वातावरणमा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको छ भने कक्षामा सहभागी बालबालिकाहरू भजन–कीर्तन, मन्त्रोच्चारण, आरती, नृत्य तथा संस्कारमूलक सांस्कृतिक प्रस्तुतिको अभ्यासमा उत्साहपूर्वक जुटिरहेका छन्। अभ्यासका क्रममा देखिएको बालबालिकाको अनुशासन, श्रद्धा, लगनशीलता र संस्कृतिप्रतिको मोहले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको छ।
आदरणीय गुरुमाता यशोदा देविज्युको प्रेरणा, आध्यात्मिक सोच तथा अथक समर्पणबाट सुरु भएको यस “बालमैत्री असल संस्कार कक्षा” ले छोटो समयमै समाजमा धार्मिक चेतना, नैतिक मूल्य र असल संस्कारको सन्देश फैलाउन सफल भएको छ। हिन्दू धर्म, वैदिक संस्कार तथा आध्यात्मिक शिक्षालाई बालबालिकाको जीवनसँग जोड्ने उद्देश्यका साथ सञ्चालन भइरहेको यस अभियानले धेरै अभिभावकको मन जित्दै समाजमा सकारात्मक प्रभाव पारिरहेको छ।
आजको आधुनिक तथा व्यस्त जीवनशैलीमा बालबालिकाहरू प्रविधि, सामाजिक विकृति तथा संस्कारहीन वातावरणतर्फ आकर्षित भइरहेका बेला यस्ता धार्मिक तथा संस्कारमूलक कक्षाहरूको आवश्यकता अझ बढ्दै गएको छ। यही आवश्यकतालाई आत्मसात गर्दै गुरुमाता यशोदा देविज्युले बालबालिकामा धर्मप्रतिको आस्था, ठूलाबडाप्रति सम्मान, सत्य मार्गमा हिँड्ने प्रेरणा तथा संस्कृतिप्रतिको प्रेम विकास गराउने उद्देश्यले निरन्तर मार्गदर्शन गरिरहनुभएको छ। उहाँले बालबालिकालाई केवल शिक्षा मात्र नभई भक्ति, सेवा, विनम्रता, अनुशासन तथा आध्यात्मिक जीवनको महत्त्वसमेत सिकाइरहनुभएको छ।
स्थापना दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा वैदिक मन्त्रोच्चारण, भजन–कीर्तन, आरती, धार्मिक नृत्य, प्रेरणादायी प्रवचन तथा संस्कारमूलक सन्देश दिने विविध प्रस्तुतीहरू समावेश गरिने आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी बालबालिकाको उत्साह, श्रद्धा र अनुशासनले सम्पूर्ण वातावरणलाई भक्तिमय तथा प्रेरणादायी बनाउने विश्वास गरिएको छ।
बालमैत्री असल संस्कार कक्षाले विगत दुई वर्षदेखि निरन्तर रूपमा बालबालिकालाई धार्मिक तथा नैतिक शिक्षा प्रदान गर्दै आएको छ। यहाँ बालबालिकालाई धर्म, संस्कार, अनुशासन, सेवा भावना, सहयोगी सोच तथा आध्यात्मिक चेतनासँग जोड्ने प्रयास भइरहेको छ। यसले बालबालिकामा सकारात्मक सोच, आत्मविश्वास तथा परिवार र समाजप्रतिको जिम्मेवारीबोध विकास गरिरहेको अभिभावकहरूले बताएका छन्।
गुरुमाता यशोदा देविज्युको मार्गदर्शनबाट बालबालिकामा आएको व्यवहारिक परिवर्तन, ठूलाबडाप्रति सम्मान गर्ने बानी, धार्मिक संस्कारप्रतिको आकर्षण तथा अनुशासनप्रतिको झुकावले यस अभियानको प्रभावकारिता स्पष्ट देखिएको स्थानीयवासीहरूको भनाइ छ।
यस पुण्य कार्यमा नवलपुर सेवा समाज युएईले समेत सहकार्य तथा सहभागिता जनाएकोमा समाजले गौरव महसुस गरेको जनाएको छ। विदेशमा रहेर पनि आफ्नो जन्मभूमि, धर्म, संस्कृति र संस्कारसँग जोडिने उद्देश्यले नवलपुर सेवा समाज युएईले यस्ता धार्मिक तथा सामाजिक अभियानहरूमा निरन्तर सहयोग गर्दै आएको छ। कार्यक्रममा विशेष उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउनु भएको नवलपुर सेवा समाज युएईका अध्यक्ष गोपाल पराजुली तथा थानेश्वर अधिकारीप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेका छन्।
आयोजकहरूले दोस्रो वार्षिक स्थापना दिवसलाई केवल उत्सवका रूपमा मात्र नभई समाजमा धार्मिक चेतना, नैतिक शिक्षा र असल संस्कार फैलाउने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्। आगामी दिनहरूमा पनि यस अभियानलाई अझ व्यापक बनाउँदै धेरै बालबालिकालाई धर्म, संस्कार र आध्यात्मिक शिक्षासँग जोड्ने लक्ष्य राखिएको बताइएको छ।
“संस्कारयुक्त बालबालिका नै सभ्य समाजको आधार हुन्” भन्ने मूल सन्देशका साथ “बालमैत्री असल संस्कार कक्षा” ले भविष्यमा अझ प्रभावकारी रूपमा आफ्नो अभियान अगाडि बढाउने विश्वास गरिएको छ। धर्म, संस्कार र सकारात्मक सोचले भरिएको पुस्ता निर्माणमार्फत समाजमा शान्ति, सद्भाव र नैतिक मूल्य स्थापित गर्न यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।