समाचार

रौतहटका दुई सरकारी कार्यालयमाथि गम्भीर प्रश्न: योजना कार्यान्वयनमा ढिलाइ हुँदा हजारौं किसान र सेवाग्राही प्रभावित

नवलपुर टुडे
२०८३ जेष्ठ ८ | बिहान ०७:०२ बजे

रौतहट । रौतहटको कृषि ज्ञान केन्द्र गौर, रौतहट र स्वास्थ्य कार्यालय गौर, रौतहट को कार्यसम्पादनप्रति स्थानीयस्तरमा गम्भीर असन्तुष्टि व्यक्त हुन थालेको छ। यी दुई कार्यालयको ढिलासुस्ती, कमजोर समन्वय तथा योजना कार्यान्वयनमा देखिएको निष्क्रियताका कारण जिल्लाका हजारौं किसान र सर्वसाधारण सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भएको गुनासो बढ्दै गएको छ।

स्थानीयवासीका अनुसार, किसानका लागि आएको कृषि अनुदान, विभिन्न विकास योजना, सडक निर्माणलगायतका कार्यक्रम समयमै कार्यान्वयन हुन नसक्दा कतिपय योजना फिर्ता जाने अवस्था सिर्जना भएको छ। त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ करोडौं रुपैयाँ लागतमा निर्माण हुने स्वास्थ्य चौकी भवनसमेत अलपत्र पर्नु वा प्रक्रिया अघि बढ्न नसक्नुले सेवाग्राहीहरू समस्यामा परेका छन्। जनगुनासो अनुसार, सरकारले जनताको सेवा, कृषि विकास र स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि पठाएको बजेट र योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा त्यसको प्रत्यक्ष असर जिल्लाका किसान, बिरामी तथा सर्वसाधारण नागरिकमाथि परेको छ।

विकासका नाममा आएको बजेट खर्च हुन नसक्नु, योजना फिर्ता जानु तथा सेवाग्राहीले सुविधा नपाउनु आफैंमा चिन्ताको विषय बनेको छ। स्थानीय स्तरमा उठिरहेको प्रश्न के छ भने जब कार्यालयमा जिम्मेवार पदमा रहेका प्रमुखहरू नै जिल्लाबासी हुँदा पनि जनताको समस्या समाधान, योजना कार्यान्वयन र सेवा प्रवाहमा प्रभावकारी भूमिका किन देखिएन? जिल्लाको विकास र सेवाप्रवाहमा गम्भीर असर पार्ने यस्ता विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग नागरिकले गरेका छन्। जनताले अब यी कार्यालयहरूको कार्यसम्पादनमाथि निष्पक्ष समीक्षा, योजना फिर्ता हुनुका कारणको छानबिन तथा जिम्मेवार पक्षमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन्।

विकास र सेवा प्रवाहमा लापरवाही हुँदा त्यसको पीडा अन्ततः किसान, बिरामी र सर्वसाधारण नागरिकले नै भोग्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने आवाज उठ्न थालेको छ।

कमेन्टहरु