मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

झडपमा परेर घाइते भएका ४ जनालाई हेलिकप्टरमार्फत उद्धार

उमेश रोकाया
२०८३ जेष्ठ ६ | मध्यान्ह ०२:०२ बजे

बाजुरा , जेठ ६ । बाजुरा र हुम्लाको सिमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयमा दुई जिल्लाका स्थानीयबिच विवादमा परी घाइते भएकाहरुलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । झडपमा परेर बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा घाइते भएका ६ जनामध्ये ४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार झडपमा परेर घाइते भएका हिमाली गाउँपालिका ३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुवर र नरबहादुर गुरुङलाई उद्धार गरिएको हो । उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको उनले बताए । यस्तै उक्त झडपमा परेर प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा समेत घाइते भएका थिए ।

हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथको सिमानामा रहेको बाजुराको लाम्पाटामा अस्थायी प्रहरी चौकी राख्ने निर्णय भएको थियो । चौकी स्थापना गर्न खोजेपछि हुम्लाका स्थानीयले कवारीखोला भन्दा वारिपट्टि आएर चौकीको संरचना बनाउन खोजिएको भन्दै अवरोध गरेका थिए ।

कमेन्टहरु