दुबई यूएई, देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, प्रबास, बिश्व, मुख्य समाचार, मौसम
गोपीनी शाहको नेतृत्वमा नेपाली रक्तदाता संघ यूएई, रक्तदान अभियानलाई संस्थागत बनाउने प्रतिबद्धता


प्रवास दुबवई, यूएई| प्रवासमा रहेका नेपालीहरूलाई मानवीय सेवामार्फत एकताबद्ध गर्ने उद्देश्यसहित नेपाली रक्तदाता संघ यूएईले आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले गोपीनी शाहको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै संस्थालाई थप सक्रिय र व्यवस्थित बनाउने संकेत दिएको छ ।

आइतबार दुबईमा सम्पन्न अधिवेशनबाट दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारी निवासी गोपीनी शाह अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यसैगरी उपाध्यक्षमा सुनिता कार्की, सचिवमा सचिन्द्र श्रेष्ठ, सहसचिवमा सानु शर्मा तथा कोषाध्यक्षमा पंकज गिरी चयन भएका छन् । नवगठित समितिको कार्यकाल दुई वर्षको रहने जनाइएको छ ।
यूएईमा रहेका नेपाली समुदायबीच रक्तदान सम्बन्धी जनचेतना फैलाउने तथा आकस्मिक अवस्थाहरूमा आवश्यक सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको संस्था केही समय निष्क्रिय बनेको थियो । तर सन् २०२४ मा बासुदेव ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएपछि संस्थाले पुनः गति लिएको थियो ।
अधिवेशन कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय रक्तदाता संघका कोषाध्यक्ष एवं नेपाली रक्तदाता संघ यूएईका संरक्षक सुनिलराज श्रेष्ठले संस्थालाई दीर्घकालीन रूपमा अघि बढाउन औपचारिक अधिवेशन आवश्यक रहेको बताउनुभयो । उहाँले रक्तदानजस्तो पुण्य कार्यलाई अभियानकै रूपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली महावाणिज्य दूतावास दुबईका उपमहावाणिज्यदूत कृष्ण प्रसाद चापागाईंले सामाजिक सेवामा सक्रिय संस्थाहरूको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाली समुदायलाई मानवीय सेवामार्फत जोड्ने कार्यमा दूतावासले आगामी दिनमा पनि आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नयाँ नेतृत्व चयनसँगै नेपाली रक्तदाता संघ यूएईले रक्तदान अभियान, स्वास्थ्य सचेतना तथा सामाजिक सेवाका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ ।





















