दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास, बिश्व, विश्व

युएईमा उभौली साकेला तथा श्याँदर पिदार चाड को रौनक, अबुधाबीमा भव्य सम्पन्न, दुबईमा मे ३१ मा विशेष कार्यक्रम हुँदै

कबिराज राजबंशी
२०८३ जेष्ठ ६ | बिहान १२:०२ बजे

प्रवास दुवई, यूएई| किरात राई यायोक्खा शाखा युएई र सुनुवार सेवा समाज शाखा युएईको संयुक्त आयोजनामा उभौली साकेला तथा श्याँदर पिदार चाड भव्य रूपमा मनाइँदै आएको छ। प्रवासमा रहेका किरात समुदायबीच भाषा, संस्कार, संस्कृति तथा पहिचान जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले युएईमा रहेका नेपाली समुदायबीच उत्साह थपेको छ।

कार्यक्रमअन्तर्गत अबुधाबीमा मे १६ मा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको आयोजकले जनाएको छ। उक्त कार्यक्रममा साकेला सिल्ली, मौलिक सांस्कृतिक प्रस्तुति, शुभकामना आदानप्रदान तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यस्तै, दुबईमा आगामी मे ३१, आइतबार विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म बुर दुबईस्थित SK7 Club मा सञ्चालन हुनेछ। कार्यक्रममा पारम्परिक भेषभूषा, मौलिक नृत्य, सांस्कृतिक झाँकी तथा सामूहिक साकेला सिली नाच मुख्य आकर्षणका रूपमा रहनेछन्।

साथै Nefin UAE मा आबद्ध जातीय संस्थाहरू, युएईमा अवस्थित वैचारिक संघ–संस्थाहरू, जिल्ला संस्थाहरू, एनआरएनए एनसीसी यूएई, नेपाली समाज यूएई तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको समेत विशेष उपस्थिति रहने जानकारी किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष डिके किराँतीले दिएका छन्।

आयोजक संस्थाहरूले प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन आयोजकले हार्दिक अनुरोध गरेको छ।

कमेन्टहरु