सचिवलाई धम्काउने रास्वपा कार्यकर्ता खड्का पक्राउ


काठमाडौँ । दैलेखको दुल्लु नगरपालिका-१३ का वडा सचिव कमल भण्डारीलाई आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन्।खड्कालाई शनिबार दिउँसो करिब साढे २ बजेतिर नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिए। उनकाअनुसार २२ वर्षीय खड्का सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ६ मा बस्छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा उनी पक्राउ परेका हुन्।खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएको थियो। त्यसपछि प्रधानमन्त्री कार्यालयले उनलाई कारबाही गर्न कडा निर्देशनसमेत दिएको थियो।
उनी प्रधानमन्त्री कार्यालयको नाम दूरुपयोग गरी धम्काएको पाइएको भन्दै प्रधानमन्त्री कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो।खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्तासमेत हुन्। उनले सुर्खेतबाट पार्टी सदस्यता लिएका छन्। उनलाई कारबाही गर्नका लागि रास्वपा दैलेखले सिफारिससमेत गरेको छ।






















