तस्कर, समाचार

बाँकेमा ५ महिलामाथि कुटपिट र सुन लुटपाट

नवलपुर टुडे
२०८३ जेष्ठ २ | बिहान ०८:०२ बजे

काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच जना महिलामाथि एउटा अज्ञात समूहले निर्घात कुटपिट गरी उनीहरूले लगाएका सुनका गरगहना लुटेको छ।

राप्तीसोनारी–३ बैशा र नवलपुर गाउँका ५५ वर्षीया बिसमति थारु, सोही ठाउँकी ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मङ्गरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारुमाथि शुक्रबार जङ्गलमा आक्रमण भएको हो। आक्रमणकारीहरूले उनीहरूलाई घाइते बनाएर साथमा रहेको डेढ तोलाभन्दा बढी सुन लुटेर फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार घटनालगत्तै सक्रिय भएको प्रहरी टोलीले राप्तीसोनारी र नरैनापुरको जङ्गल क्षेत्रबाट घटनामा संलग्न भएको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ। प्रवक्ता पातलीले भनेका छन्, ‘उक्त घटनामा संलग्न भएको आरोपमा आठ जना पक्राउ परेका छन्।’

अज्ञात समूहको कुटपिटबाट घाइते भएका महिलाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि राप्ती सोनारी अस्पताल पुर्‍याइएको थियो। त्यहाँ सामान्य उपचार गरेपछि थप उपचारका लागि उनीहरूलाई नेपालगञ्ज पठाइएको छ। अहिले घाइते सबै महिलाको नेपालगञ्जस्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्टहरु