काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य (सुनसरी–१) हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्। प्रधानमन्त्रीले संसदीय मर्यादा र परम्पराको गम्भीर उल्लंघन गरेको आरोप लगाउँदै साम्पाङले शुक्रबार (२०८३–२–१) एक विज्ञप्ति जारी गरी मार्गप्रशस्त गर्न माग गरेका हुन्।
विज्ञप्तिमा प्रधानमन्त्रीका ४ वटा मुख्य कमजोरीलाई ‘कारण’ का रूपमा प्रस्तुत गरिएको छ। पहिलो कारणका रूपमा, गत २०८३–१–२८ गते राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बीचमै बाहिरिएको र सभामा नफर्किएको विषयलाई साम्पाङले उठाएका छन्। यस्तै, वैशाख ३० गते प्रतिपक्षले उपस्थिति माग गर्दा पनि संसदमा अनुपस्थित रहेको र वैशाख ३१ गते संसदका गतिविधि ‘लाइभ’ मा हेरेर बसे पनि बैठकमा उपस्थित नभएको विषयलाई उनले संसदीय परम्पराको बेवास्ताका रूपमा व्याख्या गरेका छन्।
साम्पाङले विज्ञप्तिमा भनेका छन्, ‘जनताको सार्वभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताको आधारमा आफुलाई प्रधानमन्त्री ठानिरहेको छ ?’ उनले प्रधानमन्त्रीको यस्तो प्रवृत्तिले नराम्रो नजीर बसाल्ने भन्दै न्यूनतम कर्तव्य समेत पूरा नगरेको कारण पदबाट राजीनामा दिनु नै लोकतन्त्र र जनताका लागि सम्मान हुने उल्लेख गरेका छन्।
विज्ञप्तिमा प्रधानमन्त्री शाहलाई ‘असक्षम र असफल’ को संज्ञा दिँदै यो घटना संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ भएको टिप्पणी गरिएको छ। संसदलाई छलेर अध्यादेशको बाटो हिँड्न खोज्नुले सरकारको औचित्यमाथि प्रश्न उठाएको साम्पाङको तर्क छ।
साथै, सीमा रक्षा गर्न नसकेको र गरिब जनतालाई बेघर बनाएको आरोप लगाउँदै साम्पाङले सरकारको कार्यशैलीप्रति कडा खेद व्यक्त गरेका छन्। उनले प्रधानमन्त्रीले अभिभावकीय भूमिका खेल्न नसकेको र संसदलाई सम्बोधन नगरेर जनताको लोकतन्त्र प्रतिको विश्वासलाई लत्याएको दाबी समेत गरेका छन्।
























