देश

सांसद महरको प्रश्न : प्रधानमन्त्रीले लोकतन्त्रलाई ‘बालेनतन्त्र’ बनाउन खोज्नुभएको हो ?

नवलपुर टुडे
२०८३ बैशाख ३१ | मध्यान्ह ०२:०१ बजे

काठमाडौं, वैशाख ३१। नेकपा एमालेका सांसद ऐनबहादुर महरले संसद र संविधानप्रति सरकार उत्तरदायी बन्नुपर्ने बताएका छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था शहीदहरूको बलिदान र संघर्षबाट प्राप्त भएको उल्लेख गरे ।उनले वर्तमान सरकारले संविधानअनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो वा अन्य कुनै तन्त्र विकास गर्न खोजिरहेको हो भन्ने प्रश्न उठाए ।उनले भने, ‘यो सदन नेपाली जनताहरुको ठूलो संघर्षको उपज हो ।

अहिले हाम्रो देशमा जारी संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था तिनै शहीदहरुको बलिदानी रगत र संघर्षबाट प्राप्त भएको चिज हो । अहिलेको सरकारले कुन चाँही शासन प्रणालीलाई अवलम्बन गरिरहेको छ ? संविधानमा व्यवस्था भए बमोजिम भएको शासन प्रणालीलाई अवलम्बन गरिरहेको हो की अरु कुनै शासन प्रणाली ? अरु कुनै तन्त्र विकास गरिरहेको हो ? प्रधानमन्त्री बालेन शाहले लोकतन्त्रलाई भन्दा पनि कतै बालेन तन्त्र पो विकास गर्न लागेका हुन् की भन्ने आम प्रश्न र जिज्ञासा चलिरहेको छ । किनभने उहाँले पटक पटक संसदलाई उपेक्षा गर्नुभएको छ । पटक पटक संसदलाई अपमान गर्ने काम भएको छ, यसप्रति हाम्रो गम्भिर चासो र चिन्ता हो ।’

महरले प्रधानमन्त्री बालेन्द्र शाहतर्फ संकेत गर्दै ‘बालेन तन्त्र’ विकास गर्न खोजिएको हो कि भन्ने आम जिज्ञासा र प्रश्न उठिरहेको बताए । उनले पटक–पटक संसदलाई उपेक्षा र अपमान गर्ने काम भएको भन्दै त्यसप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरे ।

उनले सरकार संसदप्रति जवाफदेही हुनुपर्नेमा जोड दिँदै सरकारको मुख्य नीति तथा कार्यक्रम प्रस्तुत हुने बेला प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने बताए ।उनले भने, ‘हाम्रो कुरामा हामी दृढ छौं । सरकार संसद र संविधानप्रति उत्तरदायी बन्नुपर्दछ । संसदप्रति जवाफदेही बन्नु पर्दछ । त्यो जवाफदेही बन्ने बेला भनेको सरकारको मुख्य नीति तथा कार्यक्रमको बेला हो । यहीबेला प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने हो ।’ न्यूज बैंक

कमेन्टहरु