देश

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

नवलपुर टुडे
२०८३ बैशाख ३१ | बिहान ०८:०१ बजे

काठमाडौं, वैशाख ३१। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा दिएको छ । जसमा ७३ हजार ५०४ जनाले ओपिडी सेवा प्राप्त गर्नुभएको छ । यो संख्या गत आर्थिक वर्षहरूको तुलनामा बढ्दै गएको छ ।

आर्थिक वर्ष २०८०र०८१ मा १ लाख २४ हजार ४४ जना सेवाग्राहीमध्ये ३५ हजार ९६६ जनाले ओपिडी सेवा लिएका गिए । आ. व. २०८१र०८२ मा १ लाख ९४ हजार १९३ जना कुल सेवाग्राहीमध्ये ओपिडी सेवा लिनेको संख्या ५९ हजार ५९ थियो । यस वर्ष करिब २ लाख ४० हजार सेवाग्राहीले सेवा लिने आँकलन गरिएको छ ।बुधबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको बैठक कक्षमा स्वास्थ्य विभागका अधिकारीहरूले स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनको नतिजा प्रस्तुतीकरण गर्ने क्रममा चालु आर्थिक वर्षमा प्रवाह गरिसकेको सेवाका विषयमा जानकारी गराएकी हुन् ।

अहिलेसम्मको सेवा प्रवाहका विषयमा जानकारी लिइसकेपछि कार्यवाहक प्रमुख डंगोलले शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि उपचारात्मक, प्रवद्र्धनात्मक तथा प्रतिरोधात्मक, निदानात्मक र पुनःस्थापनात्मक सेवाको सन्तुलन कायम गर्न विभागलाई निर्देशन दिइन् ।

‘स्वस्थ्य समाज निर्माणका लागि सबै प्रकारका सेवालाई समान प्राथमिकता दिएर सञ्चालन गर्नुपर्छ । एउटा कार्यक्रम प्रभावकारी भएर अर्को कार्यक्रम कमजोर भयो भने यसले समग्र प्रणालीमा नकारात्मक असर गर्छ भन्ने कुरामा हेक्का राख्नुपर्छ ।’ उनको भनाइ थियो ।

स्वास्थ्य विभागले ९ करोड ५४ लाख रुपियाँ संघ सरकारको बजेटबाट ३० वटा, २ करोड १९ लाख रुपियाँ प्रदेश सरकारको बजेटबाट ३ वटा र ८६ करोड २६ लाख ४२ हजार रुपियाँ महानगरपालिकाको आन्तरिक बजेटबाट १५४ वटा गरी १८७ वटा कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।

स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी. भने, ‘महानगरपालिकाको कुल बजेटको ३।९ प्रतिशत अर्थात् ९७ करोड ९९ लाख ८२ रुपियाँ स्वास्थ्य क्षेत्रका लागि विनियोजित छ ।’

छलफलमा जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले न्यूनतम सेवा मापदण्डका विषयमा प्रस्तुतीकरण गर्दै, ३ वटा क्षेत्र, २४ वटा उपक्षेत्र, ३०८ वटा सूचकमा प्रदान गरिएको ३७९ अङ्क भारमा नतिजा निकालिएको बताए । कार्यविधि अनुसार ८५ देखि १ सयसम्म अङ्क पाउनेलाई हरियो रंग संकेत गरिएको छ ।

वडा नं. ७, १२, १९, २७ का स्वास्थ्य प्रवर्धन केन्द्र र राम घाट प्राथमिक स्वास्थ्य केन्द्रले यो रङग संकेत प्राप्त गरेका छन् । ७० देखि ८४ सम्मको अङ्क पाउनेलाई निलो, ५० देखि ६९ अङ्क पाउनेलाई पहेँलो र ५० भन्दा कम अङ्क पाउनेलाई सेतो रंग संकेत प्रदान गरिएको छ ।

महानगरपालिकाका ७ वटा वडा निलो र २० वटा केन्द्रले पहेँलो रङग संकेत प्राप्त गरेका छन् । सेतो रंग प्राप्त गर्ने कुनै पनि केन्द्र छैनन् । यो मूल्याङ्कन २०८२ चैत महिनामा गरिएको हो ।न्यूज बैंक

कमेन्टहरु